काठमाण्डौ
कात्तिक ३
देशभरका ६ महिनादेखि पाँच वर्ष उमेरसम्मका बालबालिकालाई आज पनि भिटामिन ए र जुकाको औषधि खुवाइँदैछ ।
स्वास्थ्य मन्त्रालयले हिजोदेखि नियमित कार्यक्रम अन्तर्गत देशैभरका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउन थालेको हो । स्वास्थ्य मन्त्रालयका अनुसार ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए र एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने छ । बाल स्वास्थ्य महाशाखाका निर्देशक डाक्टर राजेन्द्र पन्तले हिजो र आज गरी ७५ वटै जिल्लाका २९ लाख बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रम रहेको बताउनुभयो । देशभरका सबै नगरपालिका र गाउँ विकास समितिका वडा कार्यालय तथा तोकिएका केन्द्रहरुबाट महिला स्वास्थ्य स्वयमसेविकाले औषधि खुवाउने व्यवस्था गरेको छ ।
भिटामिन ए कार्यक्रम सञ्चालन गरिएपछि नेपालमा बालमृत्युदरमा कमी आएको छ भने भिटामिन एको कमीले हुने आँखासम्बन्धी विभिन्न रोगमा पनि कमी आएको छ ।
