काठमाण्डौ
कात्तिक १
सरकारले आज देखि तिहारलाई लक्षित बजार अनुगमन सूरु गरेको छ ।
अनुगमनको लागी राजधानीका बजारमा पाँच विशेष अनुगमन टोली परिचालन गरिएको छ । तिहारमा विषेश गरी फलफूल तथा मिठाईको बढी खपत हुने भएकाले, सरकारले यसमा मिसावट मुल्यवृद्धि लगायतका अनियमितता रोक्न दशै सकिएलगतै तिहार लक्षित अनुगमन सुरु गरेको हो । अनुमगनको लागी आपूर्ति मन्त्रालयका सचिव प्रेमबहादुर राईको नेतृत्वमा द्रूत अनुगमन समितिमार्फत खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभाग, उपभोक्तावादी संगठन, प्रहरी लगायत सम्बन्धित क्षेत्रका १२ जना प्रतिनिधि सम्मिलित टोली गठन गरिएको छ । सो टोलीले उपत्यकामा नाम चलेका मिठाई, फलफूल तथा ड्राइफुड्स पसलहरुमा अनुगमन गर्ने अनुगमन टोलका संयोजक समेत रहेका मन्त्रालयका सचिव राईले जानकारी दिनुभयो । खाद्यान्नको गुणस्तर, नापतौल र मूल्य प्राथमिकतामा राखेर गरिने अनुगमन छठसम्म चल्ने छ । दसैंदेखि छठसम्म सञ्चालन हुने सुपथ मूल्य पसल र ठूला डिपार्टमेन्टल स्टोर लगायत उपभोक्ताको विशेष घुइँचो लाग्ने स्थानमा नियमित रुपमा अनुगमन हुने छ ।
त्यस्तै सरकारले राजाधनी उपत्यका बाहिर पनि अनुमगन गर्ने जनाईएको छ । राजधानी वाहिरका जिल्लाहरुमा पनि प्रभावकारी बजार अनुगमन गर्न प्रत्येक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा विशेष अनुगमन टोली परिचालनका लागि गृहमन्त्रालय मार्फत निर्देशन दिईएको गृहमन्त्रालयका प्रबक्ता यादव प्रसाद कोईरालाले जानकारी दिनुभयो ।
