चन्द्रावतीका पूर्वविद्यार्थीले गरे विद्यालयलाई शैक्षिक सामग्री र आर्थिक सहयोग


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०८१ पुस ११ बिहीवार १५:२३ बजे

चन्द्रावतीका पूर्वविद्यार्थीले गरे विद्यालयलाई शैक्षिक सामग्री र आर्थिक सहयोग

तनहुँस्थित चन्द्रावती माध्यामिक विद्यालय भानु ७ चुँदीका पूर्वविद्यार्थीले ३६ बर्षपछि पूर्नमिलन भएर विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण गरेका छन् । विद्यालयको ६१ औं बार्षिकोत्सवको अवसरमा नेपाल जुनियर रेडक्रस स्वास्थ्य कोषमा २ लाख रुपैया समेत सहयोग गरेका छन् ।

सोहि विद्यालयबाट अध्ययन गरी बि.सं २०४५ मा कक्षा १० सकेर छुट्टिएका विद्यार्थीहरु पूनः संगठित भएका हुन् । गत शनिबार विद्यालयको बार्षिकोत्सवका अवसरमा एक लाख बराबरको एक सेट प्रोजेक्टर समेत प्रदान गरिएको सोहि विद्यालयका पूर्वविद्यार्थी एवं काठमाण्डौं महानगर प्रहरी बलका निरिक्षक प्रकाश पण्डितले बताए । ‘हामीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देखि शिक्षकहरुसहित १५ जनालाई सम्मान पनि गर्यौं’ पण्डितले भने । कार्यक्रममा प्रतिनिधिसभा सांसद शिशिर खनाल प्रमुख अतिथिको रुपमा सहभागि थिए ।

पछिल्ला बर्षहरुमा सुचना प्रविधिको विकासले बिछोडिएका घरपरिवारका सदस्य देखि पुराना समुहहरु समेत एकिकृत हुने अवसर मिलेको छ । महानगर प्रहरी बल निरिक्षक पण्डितका अनुसार काठमाण्डौं,पोखरा,चितवन,दमौली,हेटौंडा लगायत बिदेशमा समेत रहेका पूर्वविद्यार्थी संगठित भएका हुन् । ‘हामीले सुरुवात गरेको यो कार्यबाट हामीभन्दा सिनियर र जुनियर ब्याचका विद्यार्थी साथीभाईहरु एकिकृत हुने प्रेरणा मिल्नेछ’ उनले भने ।
यसअघि गत बैशाख २९ मा काठमाण्डौंकै मुड्खु भञ्ज्याङमा बनभोज कार्यक्रममा सरिक भई यो टोलीको पूर्नमिलन भएको हो । सोहि समयमा कार्यसमिति समेत गठन गरिएको थियो । श्रीप्रसाद पण्डितको संयोजकत्वमा गठित समितिमा ५ जना रहेका छन् । जसमा सचिव अजित आचार्यसहित निर्मला पण्डित,राजेश खनाल,प्रभु रानाभाट सदस्य छन् ।

आगामी दिनमा दिवंगत शिक्षक तथा साथीहरुको परिवार लक्षित कार्यक्रम गरिने संयोजक श्रीप्रसाद पण्डितले बताए । ‘हामी कोहि कसैलाई दीर्घरोगले थलिनुपर्ने अवस्था आएमा यो समितिले सहयोग गर्ने लक्ष्य छ’ संयोजक पण्डितले भने । उनका अनुसार स्वास्थ्यकोषमा जम्मा गरिएको २ लाख रकमबाट प्राप्त हुने ब्याजबाट जुनियर रेडक्रसमार्फत महिला विद्यार्थीहरुलाई आवश्यक पर्ने महिनावारीका सामग्री,प्राथमिक उपचारका औषधीले सेवा गरिनेछ । यो अभियानले चन्द्रावती विद्यालयमा मात्र नभई अन्य विद्यालयमा अध्ययन पुरा गरेका विद्यार्थीहरुलाई सकारात्मक प्रेरणा मिल्ने संयोजक पण्डितको विश्वास छ ।

 


प्रतिक्रिया

सम्बन्धित समाचार