बनस्थलीबाट गतहप्ता बाढीमा बगेका युवकको शव दक्षिणकालीस्थित बागमती नदिमा भेटिएको छ । काठमाण्डौं महानगरपालिका १५ स्थित अन्नपूर्ण चोकबाट वेपत्ता १९ बर्षीय राजन श्रेष्ठको शव मखुबेसीमा फेला परेको हो ।
गत शुक्रबार अबिरल बर्षासँगै भचाखुसी खोलामा आएको बाढीमा मोटरसाईकल सहित श्रेष्ठ नदिमा खसेका थिए । उनी सवार बागमती प्रदेश ०२–०१८ प २९७३ नम्बरको मोटरसाईकल भने तत्काल स्थानीयले निकालेका थिए । तर बाढीसहित ढलको नालीमा परेका युवकको शव आज पत्ता लागेको काठमाण्डौं महानगर प्रहरी बल निरिक्षक प्रकाश पण्डितले बताए । ‘वेपत्ता युवाको खोजीमा महानगर प्रहरी सहित सम्पूर्ण सुरक्षानिकायको विपद्को टोली खोजीमा लागेको थियो । उनी फसेको ढलभित्र र आसपास पत्ता लाग्न सकेको थिएन । अहिले उनको शव दक्षिणकाली नगरपालिका क्षेत्रमा बागमती नदिमा भेटिएको छ’ पण्डितले भने ।
युवक बेपत्ता भएसँगै उक्त खोलाक्षेत्र ढाकिएको ढलान निकाल्न काठमाण्डौं महानगरपालिका तयारी हालतमा थियो । तर चाडपर्व नजिकिएको र कतिपयको घर नै खोलाकै डिलमा पर्ने भएकाले चाडपर्व पछि सो काम अघि बढ्ने महानगरपालिका स्रोतले जनाएको छ । सिन्धुपाल्चोक घर भई हाल रानीवन बस्दै आएका युवक खोलामाथिको ढलानकै कारण बचाउन नसकिएको भन्दै आफन्त र केहि स्थानीयले उक्त ढलान निकाल्नुपर्ने आवाज उठाउदै आएका छन् ।
