काठमाडौंको न्यूरोड क्षेत्रमा सोमबार मध्याह्न केहीबेर तनावको स्थिति सिर्जना
सडक विभागअन्तर्गत सडक डिभिजन काठमाडौंले सोमबार बिहानैदेखि न्यूरोडमा सडक कालोपत्र गरिरहेको थियो।
महानगरपालिकाले फुटपाथ विस्तारका लागि काटेको सडक डिभिजन कार्यालयले कालोपत्र गरेको हो। सडक विभागबाट अनुमति नै नलिई न्यूरोडका सडक काटिएको भन्दै सडक विभाग र महानगरबीच केही समयदेखि टसल देखिएको थियो।
मेयर बालेन शाह न्यूरोडमा फुटपाथ विस्तार गर्न चाहन्छन्। र यसका लागि महानगरले ठेक्का लगाएर कामसमेत सुरू गरेको छ। तर स्थानीय बासिन्दासँग पर्याप्त छलफलबिनै महानगरले योजनका काम अघि बढाएको भन्दै असन्तुष्टि देखिएका छन्।
सडक डिभिजनले कालोपत्रका काम गरिरहेका बेला महानगरका प्रहरी पुगेपछि न्यूरोडमा सोमबार तनावको स्थिति देखा परेको थियो। न्यूरोडका बासिन्दाले महानगर प्रहरीविरूद्ध नाराबाजी पनि गरेका थिए। तनावको स्थिति देखिएपछि नेपाल प्रहरी पनि परिचालन गरिएको थियो।
न्यूरोडका स्थानीय बासिन्दा अमररत्न बज्राचार्यले काठमाडौं महानगरले इन्द्रचोकको बाटो भत्काएको र सडक विभागले कालोपत्र गर्न लागेपछि तनावको स्थिति सिर्जना हुन पुगेको बताए।
