बालेनको रातदिनको सक्रियता,काठमाण्डौंको फोहोर उठ्न थाल्यो


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७९ जेठ २३ सोमवार २२:४३ बजे

बालेनको रातदिनको सक्रियता,काठमाण्डौंको फोहोर उठ्न थाल्यो

काठमाण्डौंमा थुप्रिएको फोहोर मंगलबारबाट उठ्ने भएको छ । सरकारले फोहोर व्यवस्थापनको वैज्ञानिक विधिसहितको प्रतिवद्धता जनाएपछि बञ्चरेडाँडाका प्रभावित स्थानीयले फोहोर उठाउन दिने भएका छन् ।

विशेषगरी काठमाण्डौं महानगरका नवनिर्वार्चित प्रमुख बालेन शाहको बढि सक्रियतामा फोहोर व्यवस्थापन हुन लागेको हो । शहरी विकास मन्त्रालय तथा काठमाण्डौं महानगरपालिकाले फोहोर व्यवस्थापन तथा प्रभावित क्षेत्रको विकासका लागि विभिन्न प्रतिवद्धता जनाएपछि फोहोर उठ्ने निश्चित भएको हो ।

शहरी विकास मन्त्रालयले के गर्छ ?
शहरी विकास मन्त्रालयले बञ्चरेडाँडा प्रभावित क्षेत्रमा आर्थिक बर्ष ०७९÷८० मा सडकका लागि ४२ करोड ५० लाख रुपैया खर्च गर्ने प्रतिवद्धता जनाएको छ । सो क्षेत्रमा नदि नियन्त्रण,वृक्षारोपण तथा सामुदायिक भवन मन्दिर निर्माणका लागि १ करोड ७० लाख रुपैया मन्त्रालयले छुट्याउने सहमति गरेको छ । जग्गा अधिग्रहणबारे वातावरणीय प्रभाव मूल्यांकनको प्रतिवेदनका आधारमा प्रकृया अघि बढाउने मन्त्रालयको प्रतिवद्धता छ । साथै प्रभावित क्षेत्रका स्थानीयका लागि १० शैयाको अस्पताल सञ्चालनमा ल्याउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अनुरोध गर्ने मन्त्रालयले जनाएको छ ।

काठमाण्डौं महानगरले के गर्छ ?
काठमाण्डौं महानगरपालिकाले प्रभावित क्षेत्रका स्थानीयको स्वास्थ्य विमा गरिदिने भएको छ । धादिङ तथा नुवाकोटको सिमाक्षेत्रमा अवस्थित बञ्चरेडाँडास्थित धुनिवेसी नगरपालिकाको वडा नम्बर एक,तीन र चार तथा ककनीको वडा नम्बर एक,दुई र तीन का प्रभावित स्थानीयलाई नेपाल स्वास्थ्य विमा बोर्डबाट दोहोरो नपर्ने गरी एक हप्ताभित्र स्वास्थ्य विमा गराउने महानगरको प्रतिवद्धता छ । प्रभावित वडाको पूर्वाधार विकासमा यसअघि महानगरले छुट्याउदै आएको बजेटले निरन्तरता पाउने सहमति भएको छ । साथै प्रभावित क्षेत्रमा थुपारिएको फोहोरको दुर्गन्ध १० दिनभित्र रासायनिक तथा जैविक उपचारबाट हटाउने महानगरको प्रतिवद्धता छ । आगामी साउन १ गतेबाट उपत्यकामा उत्पादन हुने फोहोरलाई स्रोतमै वर्गिकरण गरी लैजाने व्यवस्था महानगरले गर्नेछ । यसअघि फोहोर थुपारिदै आएको सिसडोल ६ महिनाभित्र बन्द गर्ने जनाईएको छ । शहरी विकासमन्त्री रामकुमारी झाँक्री,काठमाण्डौं महानगरपालिकाका मेयर बालेन शाह लगायतको रोहबरमा फोहोर उठ्न लागेको हो ।

हेर्नुहोस् सहमतिपत्र


काठमाण्डौंको फोहोरको अवस्था भिडियोमा हेर्नुहोस् ।


प्रतिक्रिया

सम्बन्धित समाचार
ताजा अपडेट