जार तथा बोटलको पानीमा अब बार कोड अनिवार्य,यस्तो छ नयाँ मूल्य समायोजन


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७९ जेठ १८ बुधवार १८:११ बजे

जार तथा बोटलको पानीमा अब बार कोड अनिवार्य,यस्तो छ नयाँ मूल्य समायोजन

नेपाल बोटल वाटर उद्योग संघले खानेपानीको जार तथा बोटलमा अनिवार्य बार कोड प्रणाली लागु गरेको छ । पिउने पानीको गुणस्तरीयतामा एकरुपता ल्याउन संघ अन्र्तगत रहेका १ सय ८२ वटा उद्योगहरुलाई बार कोड लागु गर्न लागिएको हो ।

कतिपय उद्योगको गुणस्तरीयतामा प्रश्न उठे त्यस्ता उद्योगलाई बार कोड वितरण नगरिने संघले जनाएको छ । ‘बार कोड बिनाको बोटल तथा जार अब बजारमा भेटिए त्यसको गुणस्तरीयतामाथी प्रश्न उठाउन सकिन्छ’संघका अध्यक्ष ध्रुब गौतमले बताए । पिउने पानीको मूल्यमा एकरुपता नभएको तथा गुणस्तरीयतामा पनि पटक पटक प्रश्न उठ्ने गरेकाले उद्योगलाई व्यवस्थित गर्न यो प्रणाली लागु गरिएको उनले बताए ।

पानीको मूल्यमा हेरफेर

संघले जार तथा बोतलको पानीको मूल्यमा समेत समायोजन गरेको छ । यसअघि पानी व्यवसायीले जारको मूल्य अभिबृद्धि कर सहित अधिकतम मूल्य ६० रुपैया र बोटलको मूल्य २० रुपैया कायम गरेका थिए । त्यसबारे उपभोक्ताबादीहरुले संघीय संसदको प्रतिनिधिसभा अन्र्तगतको उद्योग तथा बाणिज्य समितिमा उजुरी गरेका थिए । संसदीय समितिले सरोकारवालासँग छलफल तथा केहि उद्योगहरुमा अध्ययन अनुगमन गरी जारको पानीको अधिकतम मूल्य ४७ रुपैया र बोटलको पानी १६ रुपैया कायम गर्न निर्देशन दिएको थियो । सोहि निर्देशन बमोजिम मूल्य समायोजन हाल आएर गरिएको संघका महासचिव गोकुल थापाले बताए । ‘हाल मूल्य बढाइएको होइन । मूल्य समायोजन गरिएको हो । उपभोक्ताले तिर्नुपर्ने रकममा फरक पर्दैन’ उनले भने ।

ईन्धन लगायतमा चर्को मूल्यबृद्धि भईरहेकाले ढुवानी खर्च बढिरहेपनि उद्योगीहरु एक बर्षअघि संसदीय समितिले दिएको निर्देशन बमोजिमकै मूल्य समायोजन गर्न तयार देखिएका हुन् । संसदीय समितिले एक बर्षअघि निर्देशन दिदा त्यसबेला डिजेलको मूल्य प्रतिलिटर ७३ रुपैया आसपास रहेको तर अहिले १ सय ६७ रुपैया प्रतिलिटरको ईन्धन हालेर आफ्ना गाडीहरुले पानी ढुवानी गरिरहेको अध्यक्ष गौतमले बताए ।
हरेक वस्तुमा मूल्य बृद्धि भईरहेपनि पानी उद्योगहरुले भने उपभोक्तालाई जतिसक्दो सहज मूल्यमा सेवा दिईरहेको संघका वरिष्ठ उपाध्यक्ष विक्रम लिम्बु चेम्जोङले बताए । ‘हाल हामीले संसदीय समितिले दिएको निर्देशन बमोजिम मूल्य समायोजन गरेका छौँ । त्यतिमात्र नभई उद्योगहरुको गुणस्तरीयता बृद्धि गर्न बार कोड प्रणाली बिहिबारबाट लागु गर्दैछौँ’ बरिष्ठ उपाध्यक्ष बिक्रम लिम्बु चेम्जोङले बताए । हाल २० लिटरको जारको पानीको लागत २० रुपैया २५ पैसा तथा बोटलको लागत ११ रुपैया ४४ पैसा रहेको संघले जनाएको छ । संघले बुधबार कार्यालयमा पत्रकार भेटघाट गर्दै पछिल्लो मूल्य समायोजन तथा बार कोडबारे जानकारी गराएको हो ।


प्रतिक्रिया

सम्बन्धित समाचार
ताजा अपडेट