मेलम्चीको पानी पूर्ण क्षमतामा सञ्चालन (भिडियो सहित)


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७९ वैशाख १८ आइतवार ०८:३१ बजे

मेलम्चीको पानी पूर्ण क्षमतामा सञ्चालन (भिडियो सहित)

राष्ट्रिय गौरवको आयोजना मेलम्चीको खानेपानी पूर्ण क्षमतामा उपभोक्तालाई वितरण थालिएको छ । आयोजनाको पानी प्रशोधन केन्द्रबाट दैनिक १७ करोड लिटर पिउन योग्य पानी थोक वितरण केन्द्र बिडिएस लाईनमा छोडिएको हो ।

आयोजनाको सुन्दरीजल साईटतर्फ निर्मित प्रशोधन केन्द्रको पूर्ण क्षमता भनेको दैनिक १७ करोड लिटर पानी पिउन योग्य बनाएर काठमाण्डौंतर्फ छोड्नसक्नु हो । हाल सोहि अनुसार पानी काठमाण्डौंतर्फको पाईपलाईनमा छोडिएको आयोजनाका सुन्दरीजल साईट ईञ्जिनियर बर्म लाल राजभण्डारीले बताए । ‘यस प्रशोधन केन्द्रको पूर्ण क्षमताअनुसार पानी सञ्चालन भईरहेको छ । विश्व स्वास्थ्य संगठनको मान्यताअनुसार शुद्ध पिउने पानी नै पठाईरहेका छौँ’ उनले भने ।

काठमाण्डौं उपत्यका खानेपानी लिमिटेडले यसअघि स्थानीय स्रोत तथा मुहानबाट दैनिक १० करोड लिटर पानी वितरण गर्दै आएको थियो । त्यसमा अरु १७ करोड थप भएकाले अब दैनिक २७ करोड लिटर पानी उपभोक्तालाई वितरण गर्ने केयुकेएलले जनाएको छ ।

राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी सरकारले गत चैत २९ गते मेलम्ची खोलाबाट काठमाण्डौंतर्फ पथान्तरण गरेको हो । २६ किलोमिटर सुरुङ भरेर सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा पानी जम्मा गरी सरकारले ११ बैशाखबाट उपभोक्ताका लागि वितरण सुरु गरेको हो ।

मेलम्चीबाट आएको जस्तोसुकै धमिलो पानी भएपनि यति सफा बनाईन्छ । हेर्नुस् भिडियो ।


प्रतिक्रिया

सम्बन्धित समाचार
ताजा अपडेट