काठमाण्डौंका उपभोक्तालाई दैनिक २७ करोड लिटर पानी दिईदै


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७९ वैशाख १५ बिहीवार १०:१५ बजे

काठमाण्डौंका उपभोक्तालाई दैनिक २७ करोड लिटर पानी दिईदै

मेलम्चीको पानी वितरणको जिम्मा पाएको काठमाण्डौं उपत्यका खानेपानी लिमिटेड केयुकेएलले उपभोक्ताको धारामा पानी क्रमश बढाउदै वितरण गरेको छ । शनिबारदेखि भने दैनिक १७ करोड लिटर पानी मेलम्ची आयोजनाबाट प्राप्त हुने केयुकेएलले जनाएको छ ।

मेलम्चीको पानी काठमाण्डौं आएपनि धारामा नआएको उपभोक्ताको गुनासो छ । आफूहरुले सार्वजनिक गरेको तालिकाअनुसार आगामी शनिबारदेखि पानी सबैतिर वितरण हुने केयुकेएलका प्रवक्ता प्रकाश कुमार राईले बताए । ‘हामीले मेलम्चीको पानी फुलफ्लेजमा प्राप्त गरेका छैनौँ । शनिबारबाट भने दैनिक १७ करोड लिटर मेलम्ची आयोजनाबाट पानी प्राप्त हुने सुचना छ । त्यसपछि भने उपभोक्ताको धारामा पानी पुग्छ’ उनले भने । हाल मेलम्चीको पानी उपभोक्ताको धारामा वितरण भईरहेपनि सबैतिर नपुगेको प्रवक्ता राईले स्विकार गरे । ‘हामीले खानेपानी वितरणको सेड्युल निकाल्यौँ । हामीलाई फुलफ्लेजमा पानी १७ गतेबाट प्राप्त हुन्छ । त्यसपछि मात्रै तालिका सार्वजनिक गर्ने कि भन्ने पनि थियो । तर पानी पुग्ने ठाउँका उपभोक्तालाई जानकारी होस् भनेर अघिबाटै हामीले सार्वजनिक गरेका हौँ’ प्रवक्ता राईले भने ।

राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी सरकारले गत चैत २९ गते मेलम्ची खोलाबाट काठमाण्डौंतर्फ पथान्तरण गरेको हो । २६ किलोमिटर सुरुङ भरेर सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा पानी जम्मा गरी सरकारले ११ बैशाखबाट उपभोक्ताका लागि वितरण सुरु गरेको हो । हाल मेलम्ची खोलाबाट दैनिक १७ करोड लिटर पानी काठमाण्डौं ल्याउने र केयुकेएलले यसअघि दैनिक १० करोड लिटर पुरानै मुहान तथा स्रोतबाट वितरण गरिरहेकाले त्यसमा थपेर दैनिक २७ करोड लिटर पानी उपभोक्ताका बिचमा पुर्याउने सरकारको लक्ष्य छ । केयुकेएलका अनुसार आगामी शनिबारबाट सरकारको उक्त लक्ष्य पुरा हुनेछ ।

पानी वितरण सम्बन्धमा केयुकेएलका प्रवक्ता प्रकाश कुमार राईसँग गरिएको कुराकानी भिडियोमा ।


प्रतिक्रिया

सम्बन्धित समाचार
ताजा अपडेट