धरहरा भित्र के काम भईरहेको छ ? (भिडियोसहित)


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७९ वैशाख १२ सोमवार १६:४८ बजे

धरहरा भित्र के काम भईरहेको छ ? (भिडियोसहित)

गतबर्ष उद्घाटन भएको धरहरा आम सर्वसाधारणका लागि खुल्ला हुन अब कम्तिमा ९ महिना लाग्ने भएको छ । धरहरा निर्माण गरिरहेको रमन कन्स्ट्रक्सनले निर्माणअवधि आगामी पुस मसान्तसम्म माग गरेअनुसार सरकारले समय थप्न लागेको छ ।

धरहरा टावर निर्माण सम्पन्न भएपनि त्यसभित्रको फिनिसिङ लगायत धरहरा परिसरमा अन्य संरचना निर्माण जारी छ । ०७८ को बैशाख ११ मा तत्कालिन प्रधानमन्त्री केपी ओलीले धरहरा उद्घाटन गरेपनि आम सर्वसाधारणले धरहरा चढ्न पाएका छैनन् । उद्घाटन गर्नेक्रममा धरहरा टावर मात्र सम्पन्न भएको र अन्य काम बाँकी भएकाले सबै काम सकिन समय लागेको हो ।

०७२ को बिनासकारी भूकम्पले पुरानो धरहरा भत्किएको थियो । त्यसपछि ०७५ पुसबाट धरहरा पूनर्निर्माणको काम सुरु भएको हो । धरहरा निर्माणको जिम्मा पाएको रमन कन्स्ट्रक्सनले कोरोना भाईरसको पटक पटकको प्रभाव लगायतको कारणले आयोजना पर सर्दै आएको जनाएको छ । निर्माण कम्पनीलाई सरकारले अब चौथोपटक समय थप्न लागेको हो । हाल आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत सकिएको धरहरा पूननिर्माण अन्तर्गत रमन कन्स्ट्रक्सनका प्रोजेक्ट म्यानेजर सञ्जय नकर्मीले बताए । ‘भिमसेन स्तम्भलाई संरक्षण गरेर राख्ने काम भईरहेको छ । आयोजनास्थलबाट गएका हाई भोल्टेजका लाईनका कारण संवेदनशिल ढंगले काम भईरहेको छ’ प्रोजेक्ट म्यानेजर नकर्मीले बताए ।

भूकम्पपछि गठित राष्ट्रिय पूननिर्माण प्राधिकरण गत पुसमा विघटन भयो । त्यसबेलासम्म धरहरा निर्माणको सरकारी तवरबाट जिम्मा प्राधिकरणले लिएको थियो । हाल प्राधिकरण विघटन भएकाले शहरी विकास मन्त्रालयले यस आयोजना हेरिरहेको छ । सरकारी तवरबाट आफूहरुलाई सहयोग रहदै आएको प्रोजेक्ट म्यानेजर नकर्मीले बताए ।

धरहरा निर्माणको बर्तमान अवस्थाबारे प्रोजेक्ट म्यानेजर सञ्जय नकर्मीसँग गरिएको कुराकानी भिडियोमा हेर्नुहोस् ।


प्रतिक्रिया

सम्बन्धित समाचार
ताजा अपडेट