
मेलम्चीको खानेपानी आईतबारबाट उपभोक्तालाई वितरण गरिदैछ । काठमाण्डौंको सुन्दरीजलस्थित आयोजनाको सुरुङको गेटसम्म नै पानी आईपुगेपनि हाल भने सुरुङलाई आवश्यक मात्रामा भर्ने प्रकृया चलिरहेको छ ।
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित अम्बाथान क्षेत्रमा आयोजनाको हेडबक्स निर्माणक्षेत्रबाट अस्थायी रुपमा पानी काठमाण्डौं ल्याईएको हो । गत असार १ को बाढीले पुरिएको आयोजनाको संरचना निकाल्ने प्रकृया अझै चलिरहेपनि सुरुङ सफा गरेर अस्थायीरुपमा पानी काठमाण्डौं ल्याईएको हो । काठमाण्डौं ल्याएको पानीलाई सुरुङ हुदै सुन्दरीजलकै पानी प्रशोधन केन्द्रमा राखिनेछ । त्यहाँ आवश्यक मात्रामा केमिकल हालेर पानी प्रशोधनका सम्पूर्ण विधि पुरा गरी पिउनयोग्य पानी काठमाण्डौंतर्फ विडिएस लाईनमार्फत पानी पठाईने आयोजनाका सुन्दरीजल साईट ईञ्जिनियर बर्मलाल राजभण्डारीले बताए । ‘अहिले पानी सुरुङमै भर्ने प्रकृया चलिरहेको छ । पानी प्रशोधन केन्द्रमा हालिसकेपछि पिउनयोग्य पानी बनाएर बिडिएस लाईनमा हालिन्छ’ राजभण्डारीले भने ।
राष्ट्रिय गौरबको आयोजनाको रुपमा लिईएको मेलम्ची खानेपानी आयोजना गतबर्ष नै ३ महिना सञ्चालनमा आईसकेको थियो । आयोजनाको हेडवक्स निर्माण लगभग अन्तिम चरणमा पुगेको अवस्थामा बाढीले सो क्षेत्र पुरेको थियो । बाढी रोकिएपछि सरकारले मंसिरसम्म काठमाण्डौंमा अस्थायीरुपमा पानी ल्याउने बतायो । तर अस्थायीरुपमा पानी ल्याउने प्रकृया लगायतमा अल्झन् भएपछि समय लम्बिएको हो । त्यसपश्चात प्रधानमन्त्री शेरबहादुर देउवाले चैत मसान्तसम्म काठमाण्डौंमा पानी ल्याईने घोषणा गरे । सोही बमोजिम खानेपानीमन्त्री उमाकान्त चौधरी लगायत आयोजना र निर्माणका सम्पूर्ण टिमको सक्रियतामै चैत मसान्तभित्रै पानी काठमाण्डौंतर्फ पथान्तरण भयो । हेडबक्स निर्माण गरिरहेको चाईनिज कम्पनी सिनो हाईड्रोलाई नै अस्थायी रुपमा पानी काठमाण्डौं ल्याउने कामको जिम्मेवारी सरकारले दिएको हो ।
खानेपानीमन्त्री चौधरीले आगामी आईतबारबाट उपभोक्तालाई पानी वितरण गरिने बताईसकेका छन् । सोहि बमोजिम आयोजना लगायत खानेपानी मन्त्रालय मातहतका सम्बन्धित निकाय मेलम्चीको पानी वितरणका लागि आवश्यक तयारीमा जुटेका छन् ।
आयोजनाका ईञ्जिनियर बर्म लाल राजभण्डारीसँग गरिएको कुराकानी भिडियोमा ।