
रामेछाप । घरभित्र छिरेको निहुँमा दलित समुदायकी बालिकालाई चरम यातना दिइएको छ । रामेछाप मन्थली नगरपालिका–६ भलुवाजोरमा १३ वर्षीय नेपाली थरकी यवतीलाई घरभित्र छिरेको निहुँमा २१ घण्टासम्म डोरीले थाममा बाँधेर चरम यातना दिएको हो ।
गैरदलित समुदायको घरभित्र छिरेको निहुँमा स्थानीय देवीस्थान आधारभूत विद्यालयमा कक्षा ४ मा अध्ययनरत नेपालीलाई सोही स्थानका ६३ वर्षका शेरबहादुर श्रेष्ठले हात र कम्मरमा नाम्लोले बाँधेर घरको दलिनमा चार घण्टासम्म झुन्ड्याएको पीडित बालिकाले बताइन् ।
त्यसपछि १७ घण्टा घरको थाममा बाँधेर सिस्नो लगाई कुटपिट गरिएको पीडितको आरोप छ । बालिकालाई सोमबार अपराह्न चार बजेदेखि मंगलबार मध्याह्न १२ बजेसम्म नियन्त्रणमा लिई बाँधेर यातना दिइएको हो ।
प्रहरीले बालिकालाई बाँधेर राख्ने श्रेष्ठलाई पक्राउ गरिसकेकाे छ । जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी राजकुमार थिङले बालिकालाई बाधेर राख्ने घरधनी श्रेष्ठलाई पक्राउ गरिएको बताए ।
उनका अनुसार सोमबार दिउसोदेखि मंगलबार मध्यान्न १२ बजे सम्म श्रेष्ठले सानो जातको मान्छे घरभित्र पसेर दही खाएको र घर अछुतो भएको भन्दै पीडितका परिवाले रुद्री लगाएर घर चोख्याउन खर्च नदिए सम्म नछोड्ने बताएपछि बालिकालाई बाँधेर राखिएको घटनाको बारेमा स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।