फाष्ट ट्रयाक निर्माणले माघदेखि तीव्रता पाउदै (भिडियो सहित)


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७८ पुस २२ बिहीवार १०:३४ बजे

फाष्ट ट्रयाक निर्माणले माघदेखि तीव्रता पाउदै (भिडियो सहित)

काठमाण्डौं । काठमाण्डौंदेखि निजगढ जोड्ने छोटो मार्गका रुपमा निर्माणाधिन द्रुतमार्ग (फाष्ट ट्रयाक) को कामले माघदेखि तीव्रता पाउने भएको छ । विभिन्न ११ खण्डमा विभाजन गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीहरुलाई बोलपत्र आह्वान गरेर निर्माण अघि बढाईएको तथा यस आयोजनामा पर्ने सुरुङमार्ग निर्माण समेत माघदेखि सुरु हुने भएकाले अब भने उल्लेख्य काम हुने नेपाली सेनाले जनाएको छ ।

काठमाण्डौं – तराई/मधेस द्रुतमार्ग नाम दिईएको यस आयोजना सम्पन्न गर्न डिपिआर अनुसार १ खर्ब ७५ अर्ब रुपैया लाग्नेछ । ७२.५ किलोमिटरको यो सडकखण्डमा ३ वटा सुरुङमार्ग तथा अग्ला तथा आधुनिक पुलहरु समेत बन्नेछन् । राष्ट्रिय गौरवको आयोजनाको रुपमा लिईएको यस आयोजनाको व्यवस्थापकीय जिम्मेवारी नेपाली सेनाले पाएको छ । काठमाण्डौं सहित ललितपुर,मकवानपुर र बारा गरी ४ वटा मात्रै जिल्ला छोएर तराई पुग्न सकिने यस मार्गलाई नेपालको महत्वपूर्ण विकासको पूर्वाधारको रुपमा लिइएको छ ।

हालसम्म यस आयोजनाको १६ प्रतिशत भौतिक प्रगति भएको छ । सरकारले ०७४ को बैशाखबाट नेपाली सेनालाई जिम्मा दिएको थियो । जिम्मेवारी पाएपनि झण्डै २ बर्ष डिपिआर स्विकृत गर्न समय लागेको नेपाली सेनाका प्रवक्ता एवं सहायकरथी सन्तोष बल्लभ पौड्यालले बताए । ‘अन्तर्राष्ट्रिय परामर्शदाता छनौट कार्यमा पनि हामीले निकै समय खर्चिनुपर्यो । कोभिडको महामारीले पनि यसको विकासलाई प्रभाव पार्यो’ उनले भने । फाष्ट ट्रयाकको जिरो किलो मानिएको ललितपुरको खोकनामा जग्गा अधिग्रहणको विषयमा अझै चुनौती छ । यी लगायत विभिन्न चुनौतीका बाबजुत काम अघि बढाएको सेनाले अब भने आयोजनाको देखिनेगरी काम हुने जनाएको छ ।

तीन सुरुङमार्ग बन्दै
नेपालको सडक पूर्वाधारमा पहिलो सुरुङमार्गको रुपमा हाल काठमाण्डौंको नागढुंगामा निर्माणाधिन छ । सरकारले अन्य डेढ दर्जन जति ठाउँमा समेत सुरुङमार्ग निर्माणका लागि अध्ययन अनुसन्धान गरिरहेको छ । काठमाण्डौंदेखि निजगढ जोड्ने निर्माणाधिन सुरुङमार्गमा समेत ३ वटा सुरुङ बन्दैछन् । महादेवटारदेखि धेद्रेसम्म ३.५ किलोमिटर र धेद्रेदेखि लेनडाँडासम्म करिब ३.३ किलोमिटर सुरुङमार्ग बन्दैछ । एकठाउँमा २ वटा सुरुङखण्ड पर्ने र अर्को भने लामो सुरुङमार्ग बन्ने नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौड्यालले बताए । उनका अनुसार पुस मसान्तदेखि सुरुङमार्ग तथा केहि विशेष प्रकृतिका पुलहरु निर्माण सुरु हुनेछ ।

फाष्ट ट्रयाक निर्माण सम्बन्धमा नेपाली सेनाका प्रवक्ता, सहायकरथी सन्तोष बल्लभ पौड्यालसँग गरिएको कुराकानी भिडियोमा हेर्नुहोस्–


प्रतिक्रिया

सम्बन्धित समाचार