नागढुङ्गा सुरुङमार्ग मुलुककै समृद्धिको नमुना


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७८ असोज २७ बुधवार १३:४६ बजे

नागढुङ्गा सुरुङमार्ग मुलुककै समृद्धिको नमुना

सडक पूर्वाधारमा पहिलो सुरुङमार्ग र ‘ओभरफ्लाइ’ सहितको निर्माणाधिन नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग १७ सय १३ मिटर खनिएको छ । आकस्मिक निकासका लागि छुट्टै सुरुङ तथा मुख्य गरी २ वटा सुरुङको जम्मा ५४ सय ९९ मिटर खनिसक्ने लक्ष्यसहित आयोजनाको काम अघि बढेको छ ।

पूर्वतर्फ काठमाण्डौंको टोटीटोल तथा पश्चिमतर्फ धादिङको सिस्नेखोलाबाट काम भईरहेको छ । जसमा काठमाण्डौंतर्फबाट मुख्य सुरुङमार्ग २ सय ५७ मिटर र सहायक सुरुङमार्ग ६ सय ९ मिटर खनिएको छ । पश्चिमतर्फ भने मुख्य सुरुङमार्ग २ सय ६५ र सहायक सुरुङमार्ग ४ सय १८ मिटर खनिएको छ । त्यसबाहेक क्रस प्यासेज र ओकिङ अडिट पनि खनिएको छ ।
सुरुङमार्ग निर्माणक्रममा दैनिकजसो एकपछि अर्को चुनौती आउने गरेको आयोजनाका निर्देशक नरेशमान शाक्यले बताए । ‘जति ठूलो स्केलको प्रोजेक्ट हुन्छ, त्यसको सिरियसनेस पनि त्यहि अवस्थामा आउदोरैछ’ उनले भने । आयोजना निर्माणका क्रममा प्रावधिक रुपमा पनि चुनौती आएको र समाधान गर्दै अघि बढेको शाक्यले बताए ।

४२ महिना निर्माण अवधि तोकिएको यस आयोजना पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कात्तिकमा शिलान्यास गरेका थिए । सुरुङमार्ग निर्माणको जिम्मा जापानिज कम्पनी हाज्मा एन्डोले लिएको हो । निर्माण ठेक्का साढे २२ अर्ब रुपैयाँ रहेकोमा जापानको साढे १६ अर्ब ऋण सहयोग र ६ अर्ब नेपाल सरकारको रहेको छ । अहिले नागढुंगादेखि सिस्नेखोलासम्मको दूरी साढे ८ किलोमिटर छ  । आयोजना पूरा हुँदा २.६८ किमिको सुरुङमार्ग तयार हुनेछ ।
सुरुङमार्गले सडकको चाप हटाउने मात्र नभई नेपालकै समृद्धिमा विशेष योगदान गर्न सक्ने देखिएको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाले गरेको विस्तृत परियोजना प्रतिवेदन डिपिआरमा सुरुङमार्गको लगानी आगामी सात वर्षमा उठ्ने उल्लेख छ ।

प्राविधिक दृष्टिकोणबाट ५०० मिटरभन्दा बढी लम्बाइको सुरुङमार्गलाई आधुनिक मानिन्छ । यस्ता सुरुङमार्गमा हावाका लागि भेण्टिलेटर र प्रकाशको व्यवस्था मिलाइन्छ । नेपालमा ५०० मिटरभन्दा बढी लम्बाइको यो नै पहिलो सुरुङमार्ग हो ।

 

आयोजनाका निर्देशक नरेशमान शाक्यसँग गरिएको कुराकानी भिडियोमा


प्रतिक्रिया

सम्बन्धित समाचार