बैतडी । बैतडीकी किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा प्रहरीले उनी अध्ययनरत विद्यालयमा पढ्ने एक किशोरलाई पक्राउ गरेकाे छ ।
भागरथीको हत्यामा संलग्न अभियुक्त १६ वर्षीय दिनेश भट्टले आफ्नो अपराधबारे प्रहरीलाई साबिती बयान दिएका छन्।स्थानीय सनातम धर्म माविमै कक्षा ११ मा अध्ययनरत दिनेश भट्टले आफ्नो अपराध स्वीकारे पछि प्रहरीले उनलाई आज मध्यान्न १२ बजे पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने तयारी गरेकाे छ । उनी भागरथीका छिमेकी र नातेदार हुन् ।
पक्राउ परेका युवकले अपराध स्वीकार गरेको र रिसइवीका कारण योजना नै बनाएर बलात्कारपछि भागरथीको हत्या गरेको अनुसन्धानमा खुलेको सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआईजी उत्तमराज सुवेदीले जानकारी दिए ।
दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी भागरथीको शव माघ २२ गते खोचलेक–चडेपानी ग्रामीण सडकखण्डको लवलेक जंगलमा सडकबाट १ सय मिटर तल झाडीमा फेला परेको थियो ।
कक्षा १२ मा अध्यनरत उनी २१ गते बिहान १० बजे विद्यालय गएकी थिइन् । त्यही दिन बेपत्ता भएकी उनको भोलिपल्ट शव भेटिएको थियो । घटनास्थलको प्राबिधिक विवरण तथा अन्य प्रमाणले पनि भट्टको संलग्नता पुष्टि भएको प्रहरीको दाबी छ ।
उनलाई पक्राउ नगरी प्रहरीले केही दिन निगरानीमा राखेर पर्याप्त प्रमाण भेटिएपछि पक्राउ गरेको थियो । अचम्म त के थियो भने भागरथीको हत्या विरोधमा भएको विद्यार्थीको प्रदर्शनमा पनि उनी सहभागी हुँदै आएका थिए ।
