चित्रको बिचित्र जीवनयात्रा


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७७ असार २२ सोमवार ०७:०३ बजे

चित्रको बिचित्र जीवनयात्रा

कथा कुनै एकादेशको होइन…

भाले बास्नुअगाडि नै घरको धिप्री बलिसक्थ्यो । युवादेखि अधबैंसेसम्मका पुरुष उठेर नाम्लो,ढाकर मिलाउथे । गृहिणी उठेर सातु,मकै,भटमास पोको पारिदिन्थे । बाटोमा बास बस्दा खानका लागि भएको दुईचार मुट्ठी चामल अनि एकदुई पोको पिठो बाँधेर ढाकरको पिँधमा हालिदिन्थे । मूलबाटोमा उज्यालो खस्नुअघि नै पैताला र तक्माको तालमा मानिसहरु नुनतेल बोक्न २ दिन हिडेर टाढाको बजार भेट्न अघि बढ्थे ।
डेढ दशकअघिसम्मको नेपालका अधिकांश पहाडी क्षेत्रका मानिसको जनजीवन हो यो । सोहि समयका हत्केलाका पछाडि सिगान पुछ्ने उमेरका केटाकेटीमध्येका एक थिए चित्रकुमार कार्की ।

खोटाङको परिवेश । अझ सानै उमेरमा उनले बुबा गुमाए,आमाको काख पनि लामो समय पाएनन् । कतिपय अवस्थामा भोक,प्यास,घामपानी सहेर हुर्किए चित्र । तिनै ढाकर र तक्मा भिरेर नुनतेल बोक्न टाढाको यात्रा तय गरेका ढाक्रेको अघिपछि लुकीछिपी गरेर उनी टाढाको बजार पुगे,अनिमात्रै उनले पहिलोपटक जीवनमा गाडी भन्ने चिज देखेका हुन् ।

गाउँघरमै अड्किएका भए उनी गाउँघरमा कतिसम्म प्रगति गर्थे होलान् त्यो बेग्लै पाटो हो । तर सानै उमेरदेखि उत्सुक रहे,जिज्ञासु बन्दै नयाँ नयाँ ठाउँ नयाँ कुरा सिक्ने,बुझ्ने कोसिस गरे, त्यसैअनुरुप उनी भारत पुगेर केहि समय बस्ने मौका पाए । त्यहिँबाट मोटरसाईकल कुदाउन नभएपनि डोहोर्याउन सिके । पछि नेपाल फर्केर उदयपुर लगायतका नेपालकै भूभागमा मोटरसाईकल कुदाउन सिके । अरुको भन्दा फरक गर्न खोज्ने चित्रकुमारले मोटरसाईकलभित्र पनि नयाँ भविष्य कोरे । सुल्टो मोटरसाईकल चलाउन समेत हम्मेहम्मे गर्ने मान्छेहरुको भिडमा उल्टो मोटरसाईकल चलाएर उनले विश्वमा नाम लेखाएका छन् । उल्टो बसेर मोटरसाईकल चलाउने देखि लिएर अन्य विभिन्न पाँच शीर्षकमा विश्व रेकर्ड राख्न सफल उनै चित्रकुमार कार्की यतिबेला विश्वको नजरमा अचम्मका प्रतिभामा गनिएका छन् ।

मलिलो खेतमा नपरेर के भो ? धानको बिउ बारीको कुनामा छरियो भने पनि हुर्किन पायो भने कोदो फल्दैन,धान नै फल्छ । त्यस्तै हुन् चित्रकुमार कार्की । विकट क्षेत्र,अभिभावकको पर्याप्त मायाको अभाव,सानै उमेरमा पर्याप्त शिक्षा,दिक्षा,ऐस,आराम,पैसाको भोग गर्न नपाएपनि आखिरमा आफूलाई प्रमाणित गरेरै छाडेका छन् उनले कि, आफूभित्र पनि अब्बल कला छ भन्ने ।

ढिलै गरेर भएपनि स्नातक तहसम्मको अध्ययनलाई अगाडि बढाउदै गरेका चित्रकुमार कार्की पत्रकारितामा पनि एक दशक अघिदेखि नै सक्रिय छन् । पाँचवटा शीर्षकमा विश्व रेकर्ड होल्डर चित्रकुमार कार्कीलाई राष्ट्रिय मात्र होइन,अन्र्तराष्ट्रिय मिडिया तथा मानिसले पनि खोजी गरिरहेका हुन्छन् । आफूले विश्व रेकर्ड राखे भनेर मख्ख परेर उनी कहिल्यै सान् देखाउदैनन् । बरु आफूजस्तै विभिन्न क्षेत्रमा कला प्रस्तुत गर्न सक्नेहरुको नाम पनि विश्व रेकर्डमा राख्न सहयोग गर्ने एक सहयोगी मन् बोकेका मिजासिला व्यक्ति हुन् उनी ।

जीवनमा केहि गर्छु भन्ने तर कहाँबाट सुरु गर्ने कसरी गर्ने भनेर अल्झिनेका लागि ठूलो पाठशाला हुन् उनी ।
उनको भावी सपना,बर्तमानको यात्रा लगायत जीवनयात्राकै विषयमा हामीले कुरा गरेका छौं ।

थप जानकारी भिडियोमा हेर्नुहोस् ।


प्रतिक्रिया

सम्बन्धित समाचार