काठमाण्डौको शंखरापुर नगरपालिकाले आगामी आर्थिक बर्ष ०७७/७८ का लागि ९९ करोड ८८ लाख ५६ हजार रुपैया बजेट बिनियोजन गरेको छ । आगामी आर्थिक बर्षको बजेट कृषि तथा पर्यटन,स्वास्थ्य,पूर्वाधार विकासमा केन्द्रित भएको नगरपालिका प्रमुख सुवर्ण श्रेष्ठले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिए ।
नगरपालिकाले पूर्वाधार विकासमा २४ करोड १३ लाख,सामाजिक विकासतर्फ ८ करोड ९९ लाख,आर्थिक विकासतर्फ ५ करोड ८५ लाख,वातावारण तथा विपद व्यवस्थापन तर्फ २ करोड ३२ लाख र संस्थागत विकास,सेवा प्रवाह र सुशासनतर्फ १ करोड ७३ लाख रकम विनियोजन गरेको छ । कोरोनाको महामारी बढ्नसक्ने खतरा रहिरहेको अवस्थामा नगरपालिकाले स्वास्थ्य क्षेत्रमा भने १ करोड ६७ लाख रुपैया मात्रै विनियोजन गरेको छ । यद्यपी आवश्यक परे अन्य शीर्षकको बजेट कटाएर भएपनि कोरोनाको उपचारमा खर्च गरिने मेयर श्रेष्ठले बताए । ‘कोरोना संक्रमणको रोकथाममा हामी संवेदनशिल छौँ । सकभर कोरोना संक्रमणको जोखिम न्यूनिकरण गर्दै अघि बढ्छौँ,संक्रमण बढ्न दिन्नौँ । बढिहालेछ भने अन्य केहि शीर्षकबाट बजेट कटौती गरेर स्वास्थ्य उपचारमा केन्द्रित गर्छौँ’ मेयर श्रेष्ठले भने ।
भवन तथा सहरी विकासमा सबैभन्दा धेरै रकम विनियोजन
शंखरापुर नगरपालिकाले भवन तथा सहरी विकास शीर्षकमा सबैभन्दा धेरै बजेट १३ करोड ९९ लाख रुपैया विनियोजन गरेको छ । स्थानीय सडक पुल तथा झोलुंगेपुलमा ९ करोड ४५ लाख विनियोजन भएको छ । शिक्षामा भने १ करोड ६७ लाख,कृषि तथा पशु विकास तर्फ २ करोड ११ लाख रुपैया विनियोजन गरिएको मेयर श्रेष्ठले जानकारी दिए । कृषि तथा पशुपालनमा बजेट केन्द्रित गरिएको भनिएपनि विनियोजित रकम पूर्वाधार विकासमै केन्द्रित छ । विनियोजित रकममध्ये ४६ करोड ६७ लाख रुपैया चालु खर्चमै केन्द्रित छ ।
राहत तथा क्वारेन्टाईन व्यवस्थापनमा हालसम्म ४७ लाख खर्च ?
शंखरापुर नगरपालिकाले लकडाउनको समयमा राहत तथा क्वारिन्टिन व्यवस्थापनमा ४७ लाख ६ हजार रुपैया खर्च भएको जनाएको छ । तर यो अवधिमा नगरपालिकाले ५ सय ७५ जनाको आरडिटी र १ सय ६२ जनाको मात्रै पिसिआर टेष्ट गरेको छ । नगरपालिकाले राहत स्वरुप विभिन्न दाताहरुसँग समन्वय गरेर ३६ लाख ५३ हजार रुपैया सहयोग संकलन गरेको जनाएको छ । जसअन्र्तगत बिमल केडिया समुहबाट ४५० पोका राहत,मारवाडी सेवा समितिबाट १३५ पोका राहत,होमनेट नेपालबाट अर्थ मन्त्रालयको मापदण्ड अनुसार ३२९ जनालाई स्वास्थ्य सामाग्री सहित राहत पोका प्राप्त भएको उल्लेख छ ।
नगरपालिकाको अबको प्राथमिकता
शंखरापुर नगरपालिकाले आगामी आर्थिक बर्षको लागि नगर अस्पतालको स्थापना गर्ने,बेरोजगारीहरुको तथ्यांक संकलन गर्न हेल्प डेस्क खडा गर्ने,बालमैत्री नगर घोषणा गर्ने,स्वास्थ्य,शिक्षा,कृषि,पूर्वाधार विकासतर्फ मुख्य प्राथमिकताको विषय हुने जनाएको छ । तरकारी बजार स्थापना र सञ्चालन गर्ने,शिक्षक विदाई कार्यक्रम,महिला स्वास्थ्य स्वयंसेविका बिदाई कार्यक्रम लगायतलाई समेत नगरपालिकाले आगामी आर्थिक बर्षको प्राथमिक विषयमा उल्लेख गरेको छ ।
