नेपालले अमेरिकाको मिलेनियम च्यालेञ्ज कर्पोरेसन एमसीसी सँग गरेको सम्झौता संसदबाट अनुमोदन गर्नेबारे नेपालमा चौतर्फी विरोध भईरहेको छ । सडकदेखि सत्तारुढ दलसम्मका अधिकांशले यो सम्झौतााको विरुद्धमा आवाज उठाईरहेका छन् । एमसीसी अनुमोदनको पक्षमा उभिदै आएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता एवं सांसद प्रकाश रसाईली स्नेहीले एमसीसीको विषयमा जनताले उठाएको आवाजलाई गम्भिरतापूर्वक लिनुपर्ने बताएका छन् ।
राष्ट्रियता र स्वाभिमानमाथी कुनै सम्झौता नगरी राष्ट्रिय हित अनुकुल यो विषय अनुमोदन गर्नुपर्ने सांसद रसाईली बताउछन् । ‘पहिले एमसीसीको विषय संसदको कार्यसुचीमा आउनुपर्यो । सरकारले कार्यसुचीमा नल्याउने अनि कांग्रेसले निर्णय गरेन भनेर मिथ्या आरोप लगाउने ? एमसीसीको बारेमा उहाँहरुकै पार्टीभित्र विवाद छ’ उनले भने । एमसीसी राष्ट्रको हितमा नभए संशोधन गर्नुपर्ने सांसद रसाईलीले बताए ।
लिपुलेक,लिम्पियाधुरा सहितको नक्सा संसदबाट पारित गर्नेक्रममा संविधान संशोधनको विधेयक सुरुमा कार्यसुचीमा चढाएर पनि हटाईयो । अहिले भने सो विधेयक संसदमा पेश भईसकेको छ । कार्यसुचीबाट उक्त विधेयक झिकिदा कतिपयले कांग्रेस पछि हटेको टिप्पणी गरे । सांसद रसाईली उक्त विधेयक कांग्रेसको कारण नभई प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण उक्त दिन कार्यसुचीबाट हटेको दाबी गर्छन् ।
फरक प्रसंगमा,रुकुमको चौरजहारीमा भएको नबराज बिक लगायत अन्य ६ जनाको हत्याका दोषीलाई कारबाही नभए घट्ना अन्र्तराष्ट्रियकरण हुनसक्ने बताए । ‘हामीले बनाएको संविधान,हाम्रो शासनप्रणालीमाथी नै यो घट्नाले कालो धब्बा लगाएको छ । यो घट्नाले अन्र्तराष्ट्रिय जगतमा लज्जित बनाएको छ’ उनले भने । जनताको जीवन राजनीतिकरणसँग जोड्न नमिल्ने भन्दै सत्तारुढ दलकै कतिपय नेताले यो घट्नालाई राजनीतिकरण गर्न खोजेको उनले दाबी गरे । प्रतिनिधिसभामा कडारुपमा प्रस्तुत भएर रुकुममा अन्तरजातीय प्रेम सम्बन्धका कारण भएको नरसंहारको घट्नाको निष्पक्ष छानविन तथा दोषीमाथी कारबाहीको माग गर्ने सांसदमध्येका एक हुन् सांसद रसाईली ।
नेपाली कांग्रेस भित्रका प्रखर वक्ताका रुपमा चिनिन्छन् सांसद प्रकाश रसाईली स्नेही । अध्ययनशील सांसदको छवी बनाएका सांसद रसाईलीले आफुले उठाएको विषयमा संसदभित्र धाराप्रवाह बिचार राख्दा संसदमा प्रमुख प्रतिपक्षी दलको प्रखर उपस्थितिको झझल्को दिन्छ ।
सांसद रसाईलीसँग हरेकन्युजकर्मीले गरेको कुराकानी भिडियोमा
