बद्रीका श्रीमतीले भन्दा बढी माया गर्ने फ्यान


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७७ वैशाख २८ आइतवार ०६:३१ बजे

बद्रीका श्रीमतीले भन्दा बढी माया गर्ने फ्यान

बद्री पंगेनी
लोक तथा दोहोरी गायक/

१० बर्षदेखि निरन्तर फोन गर्ने फ्यान
सिन्धुपाल्चोकका एक ७० बर्षीय चन्द्रकान्त नाम गरेका बुबाले मसँग फोनमा कुरा गर्न थाल्नुभएको करिब १० बर्ष पुग्यो । धेरै मेहेनतपश्चात मेरो सम्पर्क नम्बर पत्ता लगाउनुभएछ । त्यसबेलादेखि केहिदिनको फरकमा फोन गरेर ‘बाबु तिमीलाई मेरो आर्शिवाद छ’ भन्नुहुन्छ । लोक दोहोरीलाई तिमीले यतिमाथि ल्याएको छौ, निरन्तर गर्दै जाऊ भन्ने सल्लाह सुझाव दिनुहुन्छ । नयाँ गीत के आउँदैछ भनेर चासो राख्नुहुन्छ ।

श्रीमतीले भन्दा बढी माया गर्ने फ्यान
एकजना राकेश राउत नामका व्यक्ति हुनुहुन्छ । उहाँ कतार बस्नुहुन्थ्यो । यदि मलाई कसैले बिहान बेलुकै दाइ खाना खानुभयो ? के गर्दैहुनुहुन्छ ? भन्छ भने त्यो उहाँ नै हो । मलाई श्रीमतीले भन्दा बढी कसैले केयर गर्छ भने राकेश नै हो । केहीगरी मेरो फोन उठेन भने दाइ मैले केही गल्ती गरेँ कि भनेर भन्ने, मेरा नयाँ गीतबारे जानकारी राख्ने, फेसबुकमा मेरो नामको स्टाटस राख्ने गर्नुहुन्छ । मेरा जनवादी गीतबाट उहाँ बढी प्रभावित हुनुभएको रे । उहाँलाई घरमै बोलाएर भेटेको पनि छु । भूकम्पले उहाँको घर भत्कियो । दुःख गरेर कमाएको पैसाले दाइ म तपाईलाई मोबाइल पठाइदिन्छु भनेर पटक–पटक आग्रह गर्नुभयो । मैले लिन मानिनँ ।

सुनको औँठी लगाइदिएर गायव हुने फ्यान
मलाई गिफ्ट दिने फ्यानहरु पनि धेरै छन् । एक जना महिला फ्यान हुनुहुन्छ । कार्यक्रममा युके जाँदा चार घण्टाको ड्राइभ गरेर मलाई भेट्न आउनुभयो । उहाँले मसँग चियासम्म खानुभएन । बाटोमै उभिनुभयो, मसँग एउटा फोटो खिच्नुभयो । मलाई सुनको औँठी लगाइदिनुभयो र जानुभयो । त्यसपछि उहाँसँग सम्पर्क नै छैन । भेटघाट नै छैन । युकेमा हुँदा म यहाँ छु है भनेर नम्बर हालेको थिएँ । त्यसबाट कन्ट्याक गरेर भेट्न आउनुभएको रहेछ ।

फेसबुके फ्यान
कुन सिलसिलामा, कुन कार्यक्रममा कहाँ भइन्छ, कुनै ठेगान नै हुँदैन । जतिबेलै अनलाइन, फेसबुकमा भइन्न । एकोहोरो म्यासेज गर्ने र रिप्लाई नभए हैन ठूलो भा’कै हो ? मसँग नबोल्ने ? भन्ने फ्यानहरु पनि धेरै छन् । केटी फ्यान चाहिँ मेरा छैनन् भन्दा पनि हुन्छ । फेसबुकमा रिक्वेस्ट पठाउने र एसेप्ट गरेन भने घमण्डी भन्ने, रिसाउनेहरु पनि उत्तिकै छन् ।

मृत भेटिएकी फ्यान
एउटी केटीका कारण मलाई निकै तनाव भएको छ । निरमाया दोहोरी साँझमा त्यो बहिनी आउँदो रहेछ । सधैँ एक्लै आउने, मैले गाएको सुन्ने, नमस्कार गर्ने र म तपाईको फ्यान भन्ने र फर्केर जाने । त्यो बहिनी एकदमै राम्री । मलाई अलिक शंका लाग्थ्यो । किन यसरी आइरहन्छ यो बहिनी भनेर । मसँग नम्बर माग्थ्यो, मैले दिन्नथेँ । दोहोरी साँझका वेटरहरुबाट मेरो नम्बर पाइछिन् । त्यसपछि फोन गरेर म तपाईको फ्यान हो, नराम्रो नसोच्नुस्, एकचोटी म तपाईलाई दिउँसो कतै भेट्न चाहन्छु भनिन् । ठिकै छ नि त भनेँ । त्यसबेला म लैनचौर बस्थेँ । उनलाई त्यतै बोलाएँ । दुधडेरीनिर गएर आइसक्रिम खायौँ । त्यसपछि पनि त्यो बहिनीले मलाई सधैँजसो फोन गरिरहन्थीन् । वातावरण दिवसको दिन, गणेश शाह त्यसबेला मन्त्री हुनुहुन्थ्यो क्यारे । त्यहाँ नेता भर्सेज कलाकारको मैत्रीपूर्ण फुटबल खेल खेल्दै थिएँ । उनले १५÷१६ कल गरिछिन् । मैले खासै वास्ता गरिन । त्यसपछि तीन चार दिनपछि त मलाई गोरखाबाट डिएसपी सावको फोन आयो । यो नम्बर भएको केटीलाई चिन्नुहुन्छ ?, के सम्बन्ध हो तपाईहरुको ? भन्नुभयो । केही होइन, म कलाकार हो उनी मेरो फ्यान हुन् भनेँ । एकचोटी लैनचौरमा भेटेको कुरा बताएँ । उनी त मृत भेटिएकी रहिछन् ! डिएसपी साव काठमाडौंमै आएर मसँग बुझ्नुभयो । मैले सबैकुरा प्रष्टरुपमा भनेपछि उहाँले ठीक छ तपाईको दोष रहेनछ भनेर जानुभयो । त्यसपछि म खासै अपडेट भइनँ । उनको हत्या थियो कि आत्महत्या मलाई थाहा भएन । त्यसपछि केटी फ्यानको कुरा आयो कि त्यही कुरा याद आउँछ ।

गीत सुनेर रुँदारुँदै बेहोस हुने फ्यान
पोहोर साल कैलालीको अत्तरियामा कार्यक्रम थियो । मैले ‘बिदा पाउँदिन, अहिलेको साल आमा घर आउँदिन’ भन्ने गीत गाएँ । कार्यक्रममा आउनुभएकी मल्ल ठकुरी थरकी एकजना बृद्ध मेरो गीत सुनेर निकै रुनुभयो । एकछिनपछि बेहोस् हुनुभएछ । अस्पताल लगेको तीन घण्टापछि मात्र उहाँको होस् आयो । त्यहाँका पत्रपत्रिकाले पनि यस विषयमा समाचार लेखे । यसरी गीत सुनेर बेहोस नै भएको घटना पनि छ ।

नेता फ्यानहरु
अनेरास्ववियुकी अध्यक्ष नविना लामा मेरो एकदमै मिल्ने साथी पनि हो । उहाँ पनि मेरो फ्यान हो । म लोकदोहोरी प्रतिष्ठानको अध्यक्षमा उठ्दाखेरी बद्री पंगेनी लेखेको लगभग दुई÷तीन सय टिसर्ट स्पोन्सर गर्ने उहाँ नै हो । कार्यक्रमहरुमा सम्झिनुहुन्छ । नेविसंघकी उर्मिला थपलियाजी पनि मेरो फ्यान हुनुहुन्छ । मेरा गीतलाई उहाँले एकदमै मन पराउनुहुन्छ । विशेषगरी नेता फ्यानहरुले मेरा प्रगतिशिल गीतहरु बढी मन पराउनुहुन्छ । कतिपय अवस्थामा म पनि उहाँहरुको फ्यान हुन्छु । नविना लामाको म आफै फ्यान हुँ । उर्मिलाजीको लेखन शैली एकदम मनपर्छ ।

दोहोरी साँझमा आउने फ्यान
मेरो निरमाया दोहोरी साँझ छ । अलि अगाडीको कुरा हो, एकजना फ्यान आएर सिधै मलाई चिन्नुभयो ? भन्नुभयो । मैले चिनिन यार, बिर्सिए कि भन्दा उहाँले तपाई ठूलो हुनुभयो, मलाई चिन्नुभएन भन्नुभयो । भन्नु न त भाइभन्दा उहाँले तपाई चितवनको मंगलपुरमा विश्वप्रकाश माविमा गएर गीत गाउँदा मैले अगाडिबाट हात हल्लाएको थिइनँ ? तपाईले मलाई नचिन्ने ? भनेर रिसाउनुभयो । यस्ता फ्यानहरु पनि भेटिन्छन् ।

सर हुँदै अन्तिममा तँ भन्ने फ्यान
म त अहिलेसम्म दोहोरी साँझमा काम गर्छु । म गायक र होटल मजदुर दुवै हुँ । होटलमा ग्राहक आउँछन्, फ्यान आउँछन् । कतिपयले ओ हो बद्री सर, आज तपाईलाई भेटियो भनेर गल्र्याम्म अँगालो हाल्छन् । फोटोसोटो खिच्छन् । अटोग्राफ पनि माग्छन् । अटोग्राफ दिन्छु पनि । त्यसपछि टक्क टेबुलमा बस्छन् । अनि हामीसँग बसेर केही खाऊँ न दाइ भन्दै आग्रह गर्छन् । मैले अहिलेसम्म ड्रिंक्स गरेको छैन । ठिकै छ नि त भाइ भनेर बसिदियो । उसले पिउँदै जान्छ, लाग्दै जान्छ अनि बद्रिमा झर्छ । ऊसँगै खाइदिएन भने खाऊँ न यार ब्रद्री भन्छन् । तिमी हुँदै तँ मा झरेर नानाथरी गाली गर्न थाल्छन् । यस्ता फ्यान पनि धेरै भेटेको छु ।

बुटवलको फ्यान
बुटवलका बसन्त थापा मेरा लागि जे पनि गर्दिने फ्यान हुनुहुन्छ । केही समयअघि कार्यक्रममा बुटवल गएको थिएँ । प्राय म भाउ खोज्दिनँ । सार्वजनिक गाडीमा नै हिँड्छु । बसमा चढ्न लागेको बेलामा बसन्त भाइले कहाँ जान लागेको दाइ ? भन्नुभयो । मैले पाल्पाबाट गुल्मी हँुदै दाङ जान लागेको बताएँ । उहाँले रिसाउँदै झर्नुस् भन्नुभो । म त अलमलमा परेँ । उहाँले तत्काल स्कारपियो खोजिदिनुभयो । मैले पैसाको कुरा गर्दा उहाँले एक सुक्को लिन मान्नुभएन । उहाँले दाइ म तपाईको फ्यान हो, मैले तपाईबाट पैसा लिने ? भन्दै उल्दै प्रश्न गर्नुभयो । उहाँ पनि मलाई एकदमै मन पराउने फ्यान हो ।

गाडीभाडा नलिने फ्यान
म बसमा कञ्चनपुरबाट बुटवल आउँदै थिएँ । गाडीका सहचालकले मलाई चिन्नुभएछ । अनि ओ हो, बद्री पंगेनी मेरो गाडीमा भनेर खुसी हुनुभयो । भाडा लिने उठाउने क्रममा मैले हजार रुपैयाँ निकालेर दिएँ । उहाँले लिन मान्नुभएन । अनि मैले भाडा नलिने हो भने म झर्छु भनेँ, त्यसपछि भने लिनुभयो । बुटवल आइपुग्ने बेलामा फिर्ता पैसा गनेको त ९ सय ९५ रुपैयाँ थियो । अनि के गरेको यस्तो भनँे । उहाँले तपाईजस्तो कलाकार यसरी चढ्नुभएको छ, कलाकारहरु भाउ खोज्छन्, यस्तो गाडीमा चढ्न मान्दैनन्, तपाई चढ्नुभयो, खुसी लाग्यो, यसमै म सन्तुष्ट छुँ भन्नुभयो । उहाँको नाम दीपक भट्टराई हो ।

लोकल कुखुरा खुवाउने फ्यान
रौतहटमा ७२÷७३ बर्षीया पञ्चमाया तामाङ नामकी एकजना बृद्ध फ्यान हुनुहुन्छ । म कार्यक्रममा आउने थाहा पाएर उहाँ बिहानदेखि बेलुकासम्म स्टेजमै बस्नुभयो । त्यसपछि आज तपाई मेरो घरमा जानुपर्छ भन्नुभयो । शिला आले र म गयौँ । उहाँले लोकल कुखुराको विभिन्न परिकार बनाएर खुवाउनुभयो । आर्थिक रुपमा अलिक कमजोर, एउटा सानो घर तर उहाँले धेरै सम्मान दिनुभयो ।


प्रतिक्रिया

सम्बन्धित समाचार