रुकुममा एक सातादेखि विद्युत् सेवा बन्द


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७४ साउन २२ आइतवार ०७:५४ बजे

रुकुममा एक सातादेखि विद्युत् सेवा बन्द

रुकुम, २२ साउन ।

जिल्लाको सदरमुकामसहित मुसिकोट नगरपालिकामा सञ्चालित विद्युत् सेवा एक सातादेखि बन्द भएको छ ।

केन्द्रीय लाइनको सल्यानमा र जिल्लाको स्यार्पुदह साना जलविद्युत् योजनाको पावरहाउसमा रहेको मेसिनमा खराबी आएपछि गत आइतबारदेखि विद्युत् सेवा बन्द भएको हो ।

विद्युत् सेवा बन्द भएपछि जिल्लास्थित सरकारी कार्यालयका कामकाजमा समस्या भएको छ भने जनजीवन प्रभावित बनेको छ । विद्युत् नभएका कारण जिल्ला प्रशासनबाट नागरिकता वितरण तथा अन्य सरकारी कार्यालयमा दैनिक कामकाज प्रभावित भनेको सहायक प्रमुख जिल्ला अधिकारी शेरबहादुर पुनले बताउनुभयो ।

विद्युत् अवरुद्ध हुँदा जिल्ला अस्पतालमा बिरामीलाई उपचारमा समेत समस्या भएको जिल्ला अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले बताएका छन् । अल्ट्रासाउन्ड, एक्सरे, प्रसूति सेवा, प्रयोगशाला सेवालगायतमा समस्या परिरहेको जिल्ला स्वास्थ्य कार्यालय सल्लेका सिनियर अहेव दीपक विष्टले जानकारी दिनुभयो ।

विद्युत् सेवा बन्द भएपछि जिल्ला सदरमुकामलगायत सिम्रुतु, वाँफिकोट, छिवांग, मग्मा बाँफिकोट, दुली, झुलालगायतका बासिन्दालाई दैनिक कामकाजमा समस्या भएको छ । विद्युत् सेवा बन्द भएका कारण जिल्ला सदरमुकामका साना तथा मझौला चार दर्जनभन्दा बढी उद्योग, पाँचवटा एफएम रेडियोका प्रसारणसमेत नियमित हुन सकेका छैनन् ।

विद्युत् मर्मत भइरहेकाले केही दिनपछि मात्र नियमित हुने विद्युत् प्राधिकरणका कर्मचारी रामबहादुर केसीले जानकारी दिनुभयो । रासस


प्रतिक्रिया

सम्बन्धित समाचार
ताजा अपडेट