पत्रकारले उत्तर दिन नसक्ने एउटै प्रश्न : ‘संस्थाले तलब त दिन्छ ?’


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ फागुन २१ शनिवार १७:१४ बजे

पत्रकारले उत्तर दिन नसक्ने एउटै प्रश्न : ‘संस्थाले तलब त दिन्छ ?’

शान्तिप्रित सापकोटा

तिमी के गर्छौ ? गर्वका साथ भन्छु, म पत्रकारिता गर्छु । म पत्रकार हुँ भनेर भन्न नपाउँदै आजकाल सबैले एउटै प्रश्न तेस्र्याउँछन्, तिमीले काम गर्ने संस्थाले तलब त दिन्छ ? कति महिना भयो तलब नपाएको ?

यस अघिसम्म गर्वका साथ शिर ठाडो बनाएर उभिएकी म क्षणभरमै निहुरिन्छु र मेरो पेसा र कर्मथलोप्रति सोच्न बाध्य हुन्छु । त्यसबेला ठिङ्ग उभिएर मानौँ मैले काम गर्ने संस्थाबाट राम्रै तलब पाइरहेको छु वा पत्रकारका लागि सरकारले तोकेको न्यूनतम तलब समयमै पाइरहेको छु भनेँ भने सायद म उसका लागि झुठ ठहरिन्छु वा उसले मनमनै भन्नेछ यसले मलाई गफ लागाइरहेकी छ ।

अनि हिस्स दाँत देखाएर अँ अँ यस्तै छ भन्ने रेडिमेड उत्तर दिएर प्रसङ्ग बदल्नुको अलवा अर्को विकल्प रहदैन मसँग । पत्रकार राष्ट्रको चौथो अङ्ग जसले समाज बदल्न सक्छ । देशका कुना काप्चामा सूचना सन्देश प्रवाह गरेर जनता र राज्यका संयन्त्रहरुलाई जोड्ने गर्छ । प्रत्येक व्यक्तिलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा जोडिरहेकै हुन्छ । आमसञ्चरका माध्यमहरुले बिहान ओछ्यामा पुग्ने अखबार, मर्निङवाक जाँदा, काममै रहँदा सुन्ने एफएम रेडियो वा हेरिने टेलिभिजन होस् ती सबैबाट प्रकाशन तथा प्रसारण हुने समाग्रीबाट कोही व्यक्ति टाढा रहन सक्दैन । यसरी सबैलाई एउटै मालामा बुनेर राख्ने ती सञ्चार माध्यामका पत्रकार, आफै समाचरका पात्र बनिरहँदा सम्बन्धित निकाय नै मौन बस्छ । पत्रकारको हकहितका लागि लड्ने प्रतिबद्धता जनाएर ठाउँमा पुग्छ अनि ऊ पनि घुम्ने मेचमाथि बसेपछि अन्जान बनिदिन्छ ।

एउटा सानो डेरामा हजार सपनाका कथा बुन्दै एउटा प्रतिष्ठित मर्यादित पेसामा पत्रकार होमिन्छ । त्यसभित्रका यर्थाथ थाहा पाउँदै गएपछि त्यहाँको वास्तविक धरातल थाहा पाउँछ । यसपछि उसलाई हजारौँ समस्यले झेलिसकेको हुन्छ । जीवन धान्न कठिन भएपछि उसका खुट्टा लरबराउन थाल्छन् र स्वाभिमान विर्सन थाल्छ । भोको पेटमा बाहिरी सजावटी र आडम्बरीमा मात्र उसले अफ्नो स्वाभिमानलाई सजाइराख्न सक्दैन र उसले विकल्प खोज्न थल्छ ।

त्यसैले यस क्षेत्रमा अहिले स्वाभिमानको नारा बिर्सेर अन्य विकल्प खोज्नेहरु धेरै भइसके । मिडियाहरु किन आर्थिक रुपमा सशक्त बन्न सकिरहेका छैनन् भनेर चौतर्फी बहस भइरहेको देखिन्छ । तर एउटा मिडियामा काम गर्ने चिनिएका अनुहारहरु ६ महिनापछि कहाँ हराउँछन्, खोजी नै हुँदैन । पत्रकारहरु किन एउटै मिडियामा टिक्न सकिरहेका छैनन् यो समीक्षाको विषय बनेको छ । यसको मूल समस्याको जड पहिल्याउन सकिरहेका छैनौँ या जड पत्ता लाए पनि त्यसको कार्यन्वयनमा विलम्ब गरिरहेछौँ ।

गोरखापत्रको प्रकाशन (१९५८) लाई आधार मान्दा नेपालको पत्रकारिताको इतिहासले शताब्दीको यात्रा पार गरिसकेको छ । त्यसदेखि अहिलेसम्म सयौँको सङ्ख्यामा आमसञ्चारका माध्यमहरु खुले । तिनको विकास पनि भए तर किन पत्रकारको अवस्था उही ? कहिले सोच्ने पत्रकारका लागि ? सबै पत्रकारलाई एउटै टोकरीमा राखेर दाँज्न पनि नमिल्ला । रामै्र दाम र काम पाएका पत्रकार पनि यसै पेसामा रहिरहन्छु भनेर पूर्ण रुपमा सन्तुष्ट छन् त ? समग्रमा पत्रकार पेसालाई नै मर्यादित बनाउन सबै क्षेत्रका पत्रकारको हैसियत माथि उठ्नु आवश्यक छैन र ?

नेपालको पत्रकरितमा आर्थिक, भौतिक र सामाजिक असुरक्षाले गर्दा समाचारको विषयवस्तु र गुणस्तरमा समेत प्रभाव पारेको छ । पत्रकारहरुकै समस्या पहाड बनेर बसेको छ । अरुका अधिकारका लागि कसले बोलिदिने ? यो गम्भीर प्रश्न हो । यसको उत्तर सम्बन्धित निकायबाट खोजिनुपर्छ र त्यसलाई व्यवहारमा हुनुपछ । अनि मात्र पत्रकारहरुले देश र जनताका पक्षमा काम गर्न सक्ने वातावरण आउने छ । रातोपाटी


प्रतिक्रिया

सम्बन्धित समाचार