कृषि पकेट क्षेत्र बनाउन सोह्र सय किसानको निबेदन


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ फागुन १९ बिहीवार १४:५८ बजे

कृषि पकेट क्षेत्र बनाउन सोह्र सय किसानको निबेदन

चितवन, १९ फागुन ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत चितवनमा कृषि पकेट क्षेत्र निर्माणका लागि १ हजार ६ सय किसानले आवेदन दिएका छन् । कार्यक्रमका लागि १ हजार ६ सय र कृषि ब्लकका लागि ५ सय भन्दा बढी किसानको आवेदन परेको जिल्ला कृषि विकास कार्यालय चितवनले जनाएको छ ।

जिल्ला कृषि कार्यालयका प्रमुख सुधीर श्रेष्ठले आएका आवेदनको छानबिन सुरु भएको र आउँदो महिनामा कार्यक्रम सञ्चालन हुने जानकारी दिनुभयो । उहाँले चितवनमा पकेट क्षेत्रका लागि ७० वटा क्षेत्र तय गरिए पनि १०० को आवेदन परेको जानकारी दिनुभयो । यसमा धान, मकै, तरकारी, माछा, आलु, केरा, गहुँ, सुन्तला उत्पादक किसान छन् । पकेट क्षेत्र निर्माण गर्न कम्तीमा १० हेक्टर क्षेत्रफल हुनुपर्ने उल्लेख छ ।

चितवनमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत कृषि जोन, पकेट र ब्लक गरी तीन वटा कार्यक्रम सञ्चालन गरिएको छ । यसको कुल बजेट रु सात करोड ३० लाख ७७ हजार छ । कृषि ब्लकअन्तर्गत माछा र धानखेती परेको छ । पूर्वी चितवनमा धान र दक्षिण माडीमा माछाको ब्लकका लागि छुट्याइएको कार्यालयले जनाएको छ । एउटा ब्लकका लागि कम्तीमा १०० हेक्टर क्षेत्रफल आवश्यक पर्छ ।

परियोजनाअन्तर्गत झन्डै रु एक करोडको कार्यक्रम कृषि जोनका लागि आएको श्रेष्ठले बताउनुभयो । कृषि जोनअन्तर्गत पश्चिम चितवनमा तरकारी उत्पादनका लागि कार्यक्रम सुरु भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको तरकारी जोन कार्यक्रमका प्रमुख सोमनाथ घिमिरेले परियोजनाबारे जानकारी दिँदै न्यूनतम ५०० हेक्टर क्षेत्रमा तरकारी उत्पादन गर्ने लक्ष्यसहित कार्यक्रम सुरु भएको बताउनुभयो ।

चितवनको नारायणी, चित्रवन नगरपालिका र भरतपुर उपमहानगरपालिकाका केही क्षेत्रलाई समेटेर परियोजना सञ्चालन गरिएको उहाँको भनाइ छ । उहाँले जुन जिल्लामा जे सम्भावना छ, त्यही जिल्लामा त्यही कृषि कार्यक्रम सञ्चालन गर्ने लक्ष्यअनुसार तरकारी जोनको रुपमा चितवनमा कार्यक्रम आएको बताउनुभयो । रासस


प्रतिक्रिया

सम्बन्धित समाचार