कपाल काटेर महिनाको २ लाखमाथी आम्दानी


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ फागुन १५ आइतवार १२:०४ बजे

कपाल काटेर महिनाको २ लाखमाथी आम्दानी

पर्वत, १५ फागुन ।

सानै उमेरदेखि विदेश जाने र प्रशस्त धन कमाएर ल्याउने सपना बोकेका एक युवाले सैलुन व्यवसायबाट मासिक रु दुई लाखभन्दा बढी आम्दानी गर्न थाल्नुभएको छ ।

खाडी मुलुक युएईमा पुगेर दुई वर्षसम्म पसिना बगाए पनि सोचेजस्तो आम्दानी गर्न नसकेपछि घरमै फर्केर सैलुन व्यवसाय सुरु गरेका बानपा–२ का २७ वर्षीय राजन पौडेलले अहिले घरमै बसेर मनग्य आम्दानी गर्न थाल्नुभएको हो ।

विदेशबाट घर फर्किएपछि राजधानीमा बसेर ६ महिना हेयर डिजाइनर तालिम लिएर पुनः घर फर्केर सैलुन व्यवसाय सुरु गरेपछि जीवनमा सोचेभन्दा पनि राम्रो आम्दानी गर्न सफल भएको उहाँले बताउनुभयो ।

अहिले बागलुङ बजारको पुरानो बसपार्क नजिकै रहेको आफ्नै घरमा ‘मार्क रविन्स सैलुन एयर एन्ड ब्युटी फर लेडिज एन्ड जेन्स’ पसल खोलेर पौडेलले व्यवसाय गर्दै आउनुभएको छ । परिवारका कान्छा छोरा, बाबु नेपाल बैंकको पूर्व म्यानेजर ।

पैसाको त खासै कमी थिएन, विदेश जानुपर्ने बाध्यता पनि थिएन तर बालहठका कारण विदेश गएँ युएईमा पनि यस्तै पार्लरमा काम गर्ने अवसर पाएँ र त्यसैको प्रेरणाबाट नेपाल फर्केर सैलुन व्यवसाय सुरु गरेको उहाँले बताउनुभयो ।

सुरुमा त घरपरिवार र समाजले समेत यस्तो व्यवसाय नगर्न सुझाव मात्र होइन दबाब पनि दिए । उहाँ भन्नुहुन्छ – “काम भनेको सानो ठूलो हुँदैन भनेर आफूले रु ६ लाख लगानी गरेर व्यवसाय थालेको हुँ ।” हाम्रो समाजमा अझै पनि सैलुन व्यवसाय भनेको भारतीय मूलका नागरिकले नै गर्ने हो भन्ने प्रचलन रहेको छ ।

ठूला सहरबजारदेखि साना व्यापारिक केन्द्रसम्म उनीहरूकै वर्चस्व पनि छ । त्यसैले समाजको बुझाईसमेत नेपालीले गर्नुहुँदैन भन्ने हुँदाहुँदै पनि उहाँले सैलुन व्यवसाय सुरु गर्नुभएको हो । व्यवसाय सुरुवातका केही समय त आफ्नो सैलुनमा कोही पनि नआउने, यसले जान्दैन भन्ने गर्दथे तर विस्तारै आफ्नो मेहनत र कलाकौशलका कारण अहिले उहाँको पसल धौलागिरि अञ्चलकै नमुना बनेको छ ।

उहाँको पसलमा पुरुष मात्र होइन महिलाको पनि उत्तिकै आकर्षण रहेको छ । बढिजसो अफिसियल र टिनेजर्स मेरोमा आउने गर्छन्, उहाँले भन्नुभयो । दैनिक ४० देखि ५० जनासम्म पुरुष र महिला विभिन्न सेवा लिनका लागि आउने गरेको राजनले जानकारी दिनुभयो । उहाँ भन्नुहुन्छ – “मासिक रु एक हजार २०० देखि रु एक हजार ५०० सम्मले सेवा लिने गरेका छन् ।”

मबाट सेवा लिएकाहरू अर्को पटक अर्को स्थानमा जान मान्दैनन् उहाँले भन्नुभयो – “पोखरा, काठमाडाँै जहाँ पुगे पनि फर्की फर्की सेवा लिन आउने गरेका छन् ।”तालिम नै लिएर व्यवसाय सुरु गरेकाले ग्राहकको जस्तोसुकै रोजाइको सेवा दिन सक्ने उहाँको क्षमता रहेको छ । दैनिक रु पाँच हजार देखि रु सात हजारसम्म कमाइ हुने गरेको उहाँको भनाइ छ ।

व्यवसायमा गरेको लगानी पहिलो वर्षमा उठाएका राजनले अहिले भएको कमाइले आफ्ना छोराछोरी पढाउने र पैसा बैंकमा बचत गर्न थाल्नुभएको छ । उहाँ भन्नुहुन्छ – “यसबाट भएको कमाइको केही हिस्सा सामाजिक क्षेत्रमा लगानी गर्ने योजना छ ।”

उहाँको व्यवसायबाट आफूमात्र होइन दुईजना पुरुष र एक महिला गरी अन्य तीनजनालाई पनि रोजगारी पाएका छन् । उनीहरूले आफ्नो सहयोगीका रूपमा काम गर्ने गरेको राजन बताउनुहुन्छ । रासस


प्रतिक्रिया

सम्बन्धित समाचार
ताजा अपडेट