१५ फागुन
काठमाण्डौ ।
सिंहदरबार भित्र रहेका ६६ केन्द्रीय सचिवालय र मन्त्रालयहरुबाट दिनुपर्ने संस्थागत भुक्तानी आजबाट विद्युतीय प्रणालीबाट हुने भएको छ । पहिलो चरणमा सिंहदरबारमा रहेका सरकारी कार्यालयहरुले गर्ने २५ हजारभन्दा माथी रकमको भुक्तानी विद्युतीय प्रणालीबाट गर्न लागिएको हो ।
नेपाल क्लियरिङ हाउससँगको सहकार्यमा यस्तो व्यवस्था गर्न लागेको यस सेवाले हाल भुक्तानीको क्रममा हुने ढिलाई कम गर्नुका साथै जनशक्ति पनि कम लाग्ने महालेखा नियन्त्रकको कार्यालयका प्रवक्ता केवल प्रसाद भण्डारी जानकारी दिनुभयो ।
सरकारी कार्यालयहरुले यो प्रणालीको प्रयोगपछि भुक्तानी दिने आदेश कोष तथा लेखा नियन्त्रक कार्यालयमा पठाउँदा भने भुक्तानी पाउँने संस्थाको बैंकमा रहेको खाता नम्बर सहित आदेश पठाउँनु पर्ने हुन्छ । हाल ५ हजार सरकारी कार्यालयहरुले अन्य निकायहरुलाई गर्नुपर्ने भुक्तानी कोष तथा लेखा नियन्त्रक कार्यालयहरु मार्फत् गर्छन् ।
पहिलो चरणको कार्यक्रमको रुपमा यसलाई अघि सारिएकोले व्यक्तिगत भुक्तानीको लागि यो प्रणालीको प्रयोग भने अनिवार्य गरिएको छैन् । यसले हाल सरकारी भुक्तानीको क्रममा आउने गरेको म्याद नाघ्ने समस्या समाधान गर्ने तथा कर कट्टी लगायत पनि समयमै दाखिला हुने अनुमान गरिएको छ । नेपाल क्लियरिङ हाउसको सदस्यता पाएका ६८ बैंकहरुबीचको भुक्तानी मात्रै यो प्रणाली मार्फत् हुन सक्ने भएकोले तत्काललाई सिंहदरबार भित्रका कार्यालयहरुको भुक्तानी मात्रै यसको प्रयोग गर्न लागिएको हो ।
