मिर्गौला रोग पीडितद्वारा सहयोगको अपिल


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ फागुन १० मंगलवार ०८:३३ बजे

मिर्गौला रोग पीडितद्वारा सहयोगको अपिल

पाल्पा, १० फागुन ।

मिर्गौलाको रोगबाट पीडित पाल्पा खस्यौली गाविस–१ कि धनकुमारी दङ्गालले आर्थिक सहयोग गरेर आफूलाई बचाउन जिल्लावासीसँग हात जोड्नुभएको छ ।

आर्थिक स्थिति कमजोर रहेकी ५३ वर्षीया दङ्गालको दुवै मिर्गौलाले काम गर्न छाडेपछि रोगबाट ग्रस्त बन्नुभएको हो । २०७३ सालदेखि मिर्गौला पीडित हुनुभएकी दङ्गालले ऋणधन गरी रु पाँच लाख उपचार खर्च सकेपनि उपचारमा अझै पैसा लाग्ने भएपछि आर्थिक सहयोग गरिदिनुहुन जिल्लास्थित राजनीतिक दल, नागरिक समाज र पत्रकार तथा स्वदेश तथा विदेशमा बस्ने नेपाली दाजुभाइ दिदीबहिनीसँग आग्रह गर्दै आउनुभएको छ ।

पीडित दङ्गालका श्रीमान् डोलबहादुर दङ्गालले सिकर्मीको काम गरेपनि अहिले उहाँको पनि स्वास्थ्यमा समस्या देखिएपछि उपचारमा झनै समस्या थपिएको आफन्त राधाकृष्ण दङ्गालले जानकारी दिनुभयो ।

२०७३ भदौ १४ गतेदेखि दुवै मिर्गौला पीडित भई पाल्पा, भैरहवा तथा काठमाडौँका अस्पतालमा उपचार भएको आफन्तले जानकारी दिनुभयो । अझै उपचारको आवश्यक रहेको भन्ने चिकित्सकको सल्लाह अनुसार अघि बढ्न आर्थिक समस्या भएपछि सहयोगका लागि हात जोडेको दङ्गालको भनाइ छ ।

पीडित दङ्गालको श्रीमान्सहित परिवारमा तीन छोरी र एक छोरा रहेका छन् । परिवारको आर्थिक अवस्था निकै कमजोर भएको हँुदा मिर्गौलाको उपचारमा समस्या थपिएको हो । पछिल्ला वर्षमा पाल्पामा मिर्गौला पीडितको सङ्ख्या बढेको छ ।

मिर्गौला पीडितलाई सरकारले उपचारमा आर्थिक सहयोग गरे पनि पूर्ण सहयोग बिना बिरामी उपचार गराउन सक्ने अवस्था भने छैन । पीडित दङ्गालले आफूलाई आर्थिक सहयोग गरी उपचारबाट पुनर्जीवन दिन उहाँले सबैलाइ आग्रह गर्नुभएको छ । रासस


प्रतिक्रिया

सम्बन्धित समाचार
ताजा अपडेट