काठमाडौँ, ४ फागुन ।
२०७२ बैशाख १२ गतेको भूकम्पले तहसनहस भएको धरहराको पुनःनिर्माण नेपाल सरकार र नेपाल टेलिकमले संयुक्तरुपमा गर्ने भएका छन् ।
नेपाल टेलिकमका सहप्रवक्ता रोमन अधिकारीले धरहरा पुनःनिर्माणको प्रस्ताव पुरातत्व विभागमा लैजाने गृहकार्य भइरहेको भन्दै करिब ४२ रोपनी क्षेत्रफलमा पुनःनिर्माण हुने धरहरा परिसरमा पार्किङ सुविधासहितको पार्क, सङ्ग्रहालय, बच्चाका लागि खेल्ने पार्कलगायत निर्माण गरिने गरी प्रस्ताव गर्ने योजना टेलिकमले लिएको जानकारी दिनुभयो ।
झण्डै चार अर्बको लगानीमा धरहरा पुनःनिर्माण गरिने भएको छ । जसमध्ये जनताबाट ११ करोड संक्कलन गर्ने र बाँकी रकम टेलिकम आफैँले थप गर्ने सहप्रवक्ता अधिकारीले बताउनुभयो ।
यसरी धरहरा पुनःनिर्माण भइसकेपछि कम्तीमा ३० वर्ष आफ्नै स्वामित्वमा हुनुपर्नेे र निर्माण गर्दा लागेको लगानी उठेपछि मात्र सरकारलाई धरहरा हस्तान्तरण गर्ने प्रस्ताव पनि टेलिकमले गरेको छ । यदि सरकारले प्रस्ताव स्वीकार नगरे पुनःनिर्माणको जिम्मा नलिने पनि टेलिकमले स्पष्ट पारेको छ । रासस
