काठमाण्डौ, ११ माघ ।
भूकम्प र नाकाबन्दीका कारण खस्किएको पर्यटक आगमनमा गएको वर्ष भने उल्लेख्य सुधार देखिएको छ । सन् २०१६ मा पर्यटक आगमन अघिल्लो वर्षभन्दा ४० प्रतिशतले वृद्धि भएको छ ।
सन् २०१६ मा हवाई र स्थलमार्ग हुदै ७ लाख ५३ हजार २ जना पर्यटक नेपाल भित्रिएको अध्यागमन विभागको तथ्यांकमा उल्लेख छ छ । यो संख्या सन् २०१५ को भन्दा २ लाख १४ हजार ३२ ले बढी रहेको विभागले जनाएको छ । भूकम्प र नाकाबन्दीको चरम प्रभावका कारण सो वर्ष ५ लाख ३८ हजार ९ सय ७० पर्यटक नेपाल भित्रिएका थिए ।
पर्यटक आगमनको लहर हेर्दा भूकम्प र पाँच महिनाको लामो नाकाबन्दीले थला परेको पर्यटन व्यवसाय फेरि लयमा फर्कने संकेत देखिएको व्यवसायीहरू बताउँछन् । सन् २०१४ मा नै ७ लाख ९० हजार १ सय १८ पर्यटकले नेपाल भ्रमण गरेको तथ्यांक छ ।
गत वर्ष अक्टोबर महिनामा सबैभन्दा बढी पर्यटक भित्रिएका छन् । यस महिना ८७ हजार ३ सय २६ पर्यटकले नेपाल भ्रमण गरेको अध्यगमन विभागको तथ्यांकमा उल्लेख छ । सबैभन्दा कम पर्यटक जुन महिनामा आएका छन् । यस महिना जम्मा ३६ हजार ८ सय ९७ मात्र पर्यटक आएका छन् ।
एक वर्षमा स्थल र हवाई मार्गबाट कुल १ लाख १८ हजार २ सय ४९ भारतीय पर्यटकले नेपाल भ्रमण गरेको तथ्यांक छ । यस्तै, दोस्रो स्थानमा रहेका चिनियाँ पर्यटकको संख्या १ लाख ३ हजार ९ सय ८५ रहेको छ । तेस्रो स्रोत मुलुक श्रीलंकाबाट ५७ हजार ५ सय २१ पर्यटकले नेपाल भ्रमण गरेका छन् । आजको कारोबार दैनिकमा खबर छ ।
सन् २०१६ मा पर्यटक आगमन विवरण
महिना संख्या
जनवरी : ४०,२६०
फेब्रुवरी : ५८,८७१
मार्च : ७४,४९४
अप्रिल : ५८,२६२
मे : ४४,७२८
जुन : ३६,८९७
जुलाई :४६,१६०
अगष्ट :६४,३८६
सेप्टेम्बर :७२,७२०
अक्टोवर :८७,३२६
नोभेम्बर : ७१,०४०
डिसेम्बर : ७४,४०६
