
महोत्तरी,
७ माघ ।
नेपालका लागि स्वीट्जरल्यान्डका राजदूत योर्ग फ्रिडेनले महोत्तरीको विभिन्न स्थानको अवलोकन गर्नुभएको छ ।
बिहीबार महोत्तरीको गौशाला नगरपालिकामा स्थानीयवासीले सञ्चालनमा ल्याएको मसलाको पातबाट तेल निकाल्ने प्रविधिको अवलोकन गर्नुभयो ।
गौशाला नगरपालिका–१० का अन्जनीकुमार बछारले प्रयोग गर्नु भएको आधुनिक प्रविधिद्वारा मसलाको पातबाट तेल निकाल्ने प्रविधिको राजदूतले स्थलगत अवलोकन गर्नुभएको हो । यो सुगन्धित तेल सावुन बनाउने तथा औषधिका रुपमा पनि प्रयोग हुन्छ ।
स्वलगानीमा बछारले आफनै घरमा सञ्चालन गरेको सो प्रविधिको अवलोकन गर्ने क्रममा हर्षित हुँदै उहाँले यसरी नेपालीहरुको घरघरमा व्यवसाय सञ्चालन गरे नेपालमा आर्थिक क्रान्ति सम्भव हुने प्रतिक्रिया दिनुभयो । अन्जनीले गरेको मेहनतको राजदूत फ्रिडेनले प्रशंसा गर्नुभएको थियो ।
त्यस्तै, राजदूत फ्रिडेनले विहिबार विहान सुन्दरपुरमा निर्माणाधीन कन्तवाँ पुलको समेत निरीक्षण गर्नुभयो । रासस