राजस्व सङ्कलन दुई गुणाले बढ्यो


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ माघ ६ बिहीवार १५:५२ बजे

राजस्व सङ्कलन दुई गुणाले बढ्यो

विराटनगर, ६ माघ ।

मोरङमा चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा गएको आर्थिक वर्षको अवधिमा भन्दा दोब्बर बढी राजस्व सङ्कलन भएको छ । गएको आर्थिक वर्षको सुरुको ६ महिनामा सात अर्ब १५ करोड ८४ लाख राजस्व सङ्कलन भएकामा चालु आवको पुस मसान्तसम्ममा रु १४ अर्ब ४५ करोड ३४ लाख राजस्व सङ्कलन भएको कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख किशोर बरालले जानकारी दिनुभयो ।

सबैभन्दा बढी आन्तरिक राजस्व कार्यालयले रु आठ अर्ब ८१ करोड ६५ लाख तथा विराटनगर भन्सार कार्यालयले रु पाँच अर्ब १२ करोड ६० राजस्व सङ्कलन गरेको छ । मालपोत कार्यालय विराटनगरले रु १४ करोड ७२ लाख, मालपोत कार्यालय, बेलबारीले रु सात करोड ५२ लाख र जिल्ला प्रशासन कार्यालयले रु तीन करोड ८१ लाख राजस्व सङ्कलन गरेको छ ।

जिल्लामा विकास निर्माणको काम सुस्त देखिएको छ । सरकारले पुँजीगत शीर्षकमार्फत विनियोजन गरेको बजेटमध्येबाट चालु आवको ६ महिनामा १७ प्रतिशत मात्र खर्च भएको छ । चालु आवका लागि पुँजीगततर्फ रु तीन अर्ब ८४ करोड १७ लाख रकम विनियोजन गरेकामा ६ महिनामा मात्र रु ६४ करोड ४९ लाख अर्थात् १७ प्रतिशतमात्र खर्च भएको बरालले बताउनुभयो ।

त्यसैगरी चालु शीर्षकतर्फ रु आठ अर्ब ३५ करोड ५२ लाख रकम विनियोजन गरिएकामा चालु आवको ६ महिनाको अवधिमा रु तीन अर्ब ५१ करोड ८१ लाख अर्थात ४२ प्रतिशत खर्च भएको छ । एकसय एकवटा निजामती कार्यालय रहेको जिल्लामा रु एक अर्ब २५ करोड ६४ लाख बेरुजु फछ्र्योट हुन बाँकी रहेको कार्यालयले जनाएको छ । रासस


प्रतिक्रिया

सम्बन्धित समाचार
ताजा अपडेट