पाँच नेपाली स्टार, जो विश्वमा चम्किए


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ माघ १ शनिवार ०८:४० बजे

पाँच नेपाली स्टार, जो विश्वमा चम्किए

काठमाण्डौ, १ माघ ।

खाडी र मलेसियामा पसिना बगाउने मात्र होइन, विश्व विज्ञानमा सिर्जना गर्ने, समाजमा योगदान गर्ने र राजनीतिमा नेतृत्व गर्ने तहमा पुगिसकेका छन् नेपाली । नेपालीको उमंग बढाउने विश्वास खड्काथोकीको सफलताको कथा छ । आजको नयाँ पत्रिकाकामा खबर छ ।

प्रबल गुरुङ
विश्वको फेसन डिजाइनमा प्रवलको उपस्थितिले पूर्वीय एकाधिकार तोडेको छ । काठमाडौंको सेन्ट जेभियर्सबाट एसएलसी पास गरेका प्रबलले दिल्लीमा फेसन डिजाइनर अध्ययन गरेका हुन् । नेसनल काउन्सिल अफ होटेल म्यानेजमेन्ट कलेजमा पढ्न मुम्बई गएका प्रबलले पछि दिल्लीको नेसनल इन्स्टिच्युट अफ फेसन टेक्नोलोजीमा डिजाइनको कोर्स गरेका थिए ।

त्यसपछिको केही समय उनले दिल्लीका केही संस्थाहरूमा मनीष अरोरासँग डिजाइनमा सहकार्य गरेका थिए । सन् १९९९ मा न्युयोर्कको बाटो तय गरेपछि उनको जीवन नै परिवर्तन भयो । विभिन्न संस्थामा इन्टर्न्सिप गर्दै र विभिन्न व्यक्तिसँग सहकार्य गर्दै उनले सन् २००९ मा न्युयोर्कमा एकल फेसन विक र २०१० मा पहिलोपटक रनवे सोसमेत गरे ।

सन् २०११ देखि प्रबलले शिक्षा फाउन्डेसन नेपाल नामक संस्था सञ्चालनमा ल्याएका थिए । विश्व फेसनको प्रतिष्ठित संस्था फेसन ग्रुप इन्टरनेसनलले प्रबललाई नाइट्स अफ स्टार्स सम्मान दिएको छ । उनलाई अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसले पनि सम्मान गरेको थियो । उनका अधिकांश डिजाइनमा नेपाली संस्कृतिको समेत सम्मिश्रण छ ।

सञ्जिता प्रधान
अमेरिकी राष्ट्रपति बाराक ओबामाले २०१५ मेमा सञ्जिता प्रधानलाई आफ्नो एसियन, अमेरिकन तथा प्यासिफिक आइल्यान्डरसम्बन्धी सल्लाहकारमा नियुक्त गरे । प्रधान पति र छोरासहित सन् २००६ मा अमेरिका गएकी थिइन् ।

संखुवासभाको चैनपुरमा जन्मिएकी सञ्जिताले धरान विजयपुर बोर्डिङ स्कुलबाट एसएलसी पास गरेकी थिइन् । कृषि क्याम्पस रामपुर चितवनबाट बिएस्सी–एजी सकेपछि उनले भारतबाट एमबिए सकाइन् । त्यसपछि जिटिजेडमा काम गरिन् ।

अमेरिका पुगेपछि प्रधान बैंकमा कस्टुमर सेल्स रेप्रेजिन्टेटिभ र फाइनान्सियल फर्म मार्के्टिङको जागिर छाडेर रिफ्युजी सर्भिस अर्गनाइजेसनमा स्वयंसेवकका रूपमा समेत काम गरेकी थिइन् ।

लुजेन्द्र ओझा
अमेरिकी अन्तरिक्ष संस्था नासाले सन् २०१५ मा सार्वजनिक गरेको खोजमा भनियो, ‘मंगल ग्रहमा पानीको स्रोत छ ।’ त्यो खोज गर्ने टिममा थिए, नेपाली वैज्ञानिक लुजेन्द्र ओझा । ओझाको टिमले सन् २०११ देखिको अनुसन्धानपछि भूउपग्रहका तस्बिर विश्लेषणका आधारमा मंगल ग्रहको सतहमा पानी रहेको निष्कर्ष निकालेको थियो । यो अनुसन्धानपछि भएको पत्रकार सम्मेलनमा ओझाले नै ब्रिफिङ गरेका थिए ।

सन् १९९० मा काठमाडौंमा जन्मिएका ओझाले लैनचौरको योघारी हाइयर सेकेन्डरी स्कुलमा चार कक्षासम्म अध्ययन गरेका थिए । उनले ज्ञानेश्वर पब्लिक स्कुलमा पनि अध्ययन गरेका थिए । सन् २००५ देखि अमेरिका बस्दै आएका उनको पुख्र्यौली घर भने डोटीको महादेवस्थान हो ।

लुजेन्द्रका बुबा टंक ओझासमेत वैज्ञानिक हुन् । एरिजोनाबाट विद्यावारिधि गरेसँगै टंकलाई वैज्ञानिकका रूपमा अनुबन्धित गरेको थियो । लुजेन्द्रले पनि एरिजोनाबाटै प्लानोटरी साइन्स र जियो फिजिक्सबाट ब्याचलर गरेका थिए । सन् २००७ देखि २०११ सम्म एरिजोनामा पढेपछि उनले जर्जिया इन्स्टिच्युट अफ टेक्नोलोजीबाट प्लानोटरी साइन्स र भोन्कानोलोजीबाट विद्यावारिधि गरे । सन् २०१६ देखि उनी जोन्स हकिङ विश्वविद्यालयमा ब्लास्टेन पोस्ट डक्टरल फेलो हुन् ।

डा. कुमुद धिताल
संसारमा पहिलोपटक मृतकको मुटु झिकेर प्रत्यारोपणको शल्यक्रिया डा. कुमुद धितालले गरे । अस्ट्रेलियाको सिड्नीस्थित सेन्ट भिन्सेन्ट अस्पतालमा कार्यरत डा. धितालले सन् २०१४ मा तीन मुटु तीनजना बिरामीमा प्रत्यारोपण गरे । त्यसपछि उनले विश्वभर चर्चा मात्र कमाएनन् नेपालीको शिरसमेत उचो बनाए । सिड्नीकै ५७ वर्षीया मिसेल ग्रिबिलास र ४० वर्षीय जेन डामेनमा उनले मुटुको सफल प्रत्यारोपण गरेका थिए ।
विष्णुप्रसाद वि.सं. २००१ को एसएलसी बोर्डटपर हुन् । उनले सन् २००० मा लन्डन विश्वविद्यालयबाट मस्तिष्क नसाको उपचार विषयमा पिएचडी गरेका थिए । अहिले उनी अस्ट्रेलियाको सेन्ट भिन्सेन्ट्स अस्पतालमा कार्डियोथोरासिक सर्जन छन् । कुमुद युनिभर्सिटी अफ न्यु साउथ वेल्सका एसोसिएट प्रोफेसर र भिक्टर च्याङ कार्डियाक रिसर्च इन्स्टिच्युटका फ्याकल्टी मेम्बरसमेत हुन् ।

अनिश गिरी
नेपाली बुबा सञ्जय गिरी र रसियन आमा ओल्गाबाट २८ जुन १९९४ मा रसियामा जन्मिएका अनिश गिरीले पटक–पटक विश्व चेस च्याम्पियन उपाधि जितेका छन् । उनले १४ वर्षकै उमेरमा ‘ग्रान्ड मास्टर’को उपाधि पाएका थिए ।

अनिश बाबुआमासँगै सन् २००२ मा जापानको सापोरामा गए र २००८ सम्म बसे । रसियामा छँदा नै उनी १४ वर्षमुनिको रसियन हाइयर लिगमा च्याम्पियन भएका थिए । त्यसपछि उनको परिवार नेदरल्यान्डमा बस्न थाल्यो । वल्र्ड चेस च्याम्पियन २०१० मा चौथो भएका गिरी २०१३ को वल्र्ड चेस च्याम्पियनसिपमा पहिलो भए । अनिश सन् २०१२, २०१४ र २०१६ को ओलम्पियाडमा लगातार पहिलो भएका हुन् । उनी सन् २०१२ को वल्र्ड सिटिज च्याम्पियनसिपमा र सन् २०१३ को युरोपियन च्याम्पियनसिपमा पनि पहिलो नै भए ।


प्रतिक्रिया

सम्बन्धित समाचार
ताजा अपडेट