२८ पौष,
झापा ।
झापाको दुहागढीमा रहेका दुईवटा सिमेन्ट उद्योगलाई ६ महिनाभित्र व्यवस्थित गर्न सम्बन्धित उद्योगीले सहमति जनाएका छन् । उद्योग सञ्चालनको विषयमा उत्पन्न विवाद मिलाउन नव सिर्जनशील युवा समाज दुहागढीद्धारा आयोजित छलफलमा उनीहरुले व्यवस्थित गर्ने प्रतिवद्धता जनाएका हुन् ।
दुहागढी–१ मा हिमालयज सिमेन्ट उद्योग र दुहागढी–३ मा गोरखकाली सिमेन्ट उद्योग व्यवस्थित नहुँदा त्यहाँबाट निस्किएको धुवाँ, धुलो र ध्वनिले आक्रान्त बनेका स्थानीयवासी आन्दोलित भएपछि युवा समाजको समन्वयमा उद्योगी र स्थानीयवासीबीच छलफल भएको हो । छलफलमा स्थानीयवासीले उठाएका १४ बुँदे सवालमा उद्योगीले धुवाँ, धुलो र ध्वनिलाई पूर्णरुपमा नियन्त्रण गर्ने प्रतिबद्धता जनाएका थिए ।
त्यस क्रममा उद्योगीले उद्योग व्यवस्थापन गर्न ६ महिनाको समय मागेका छन् । छलफलमा गोरखकाली सिमेन्ट उद्योगका सञ्चालक दीपेश ढकाल, तीर्थ ढकाल, हिमालयज सिमेन्ट उद्योगका सञ्चालक उमेश डालमियाले उठेका सवालको जवाफसहित उत्पन्न समस्यालाई पूर्णरुपले समाधान गर्ने बताउनुभयो ।
