२७ पुस,
काठमाडौं ।
गोरखा बुङकोटका १६ वर्षकी मेलिना र १४ वर्षकी इन्दिरा श्रेष्ठ सात दिनदेखि आमाको किरिया गरेर बसेका छन् । उनीहरुकी आमा फुलमायाको गत वुधबार मस्तिष्कघातका कारण मृत्यु भएपछि उनीहरु किरिया बसेका हुन् ।
उनीहरुका बुबा ढकबहादुरको दुबै खुट्टा छैनन् । दाजुभाइ पनि छैनन । उनीहरुले नै आमाको शब बोकेर घाटसम्म पुर्याएर दाहसँस्कार गरे अनि किरिया बसिरहेका छन् ।
‘शारीरिक रुपमा कमजोर बुबालाई छोरीले पनि आइपर्ने सबै काम गर्न सक्छन् भन्ने देखाउँन हामी किरिया बसेका हौं’ मेलिनाले भनिन्, ‘छोरा छैन भनेर बुबाको मन खिन्न नहोस् भन्ने हाम्रो चाहना छ ।’ आजको अन्नपूर्ण पोस्ट दैनिकमा रहेको समाचार हो ।
उनीहरु दुबै जना दश कक्षामा अध्ययनरत छन् ।
‘छोरीलाई किरिया बस्न कठिन हुँदो रहेछ । विभेद हुँदो रहेछ ।’ उनीहरु भन्छन्, ‘हामी पनि छोराजत्तिकै सक्षम छौं, हामीलाई कुनै पनि सामाजिक काममा विभेद नगरियोस्’
