पर्यटकीय क्षेत्र प्रचारप्रसारका लागी महायज्ञ


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ पुस २४ आइतवार ०८:५७ बजे

पर्यटकीय क्षेत्र प्रचारप्रसारका लागी महायज्ञ

कञ्चनपुर, २४ पुस ।

कञ्चनपुरको झलारी पिपलाडी नगरपालिकाको चुरे क्षेत्रमा पर्ने धार्मिक पर्यटकीय क्षेत्र मणिका धामको प्रचारप्रसारका लागि महारुद्री महायज्ञको आयोजना गरिएको छ । वैजनाथ धर्म सनातन संरक्षण समितिको आयोजनामा वैजनाथ मन्दिर मणिका धाममा महायज्ञको आयोजना गरिएको हो ।

महायज्ञको पहिलो दिन आज कलश यात्राको आयोजना गरी महायज्ञको समुद्घाटन गरिएको महायज्ञ आयोजक समितिका गगनराज भट्टले बताउनुभयो । उहाँका अनुसार महायज्ञमा दैनिक नित्य पूजा, ह्वन, प्रवचन, भजनकीर्तन र आरतीलगायतका कार्यक्रम गरिने छन् । महायज्ञको अन्तिम दिन पुस २८ गते पूर्ण आहुति, तिलकप्रसाद वितरण गरी साधु तथा ब्राह्मणका लागि भण्डारा लगाई समापन गरिने छ ।

पौराणिककालदेखि धार्मिक क्षेत्रका रुपमा पहिचान कायम राखेको मणिका धामको चारैतिर हरियो सालको वनले घेरिएको क्षेत्रको अवलोकन गर्ने र तराईको दृश्यावलोकन गर्नका लागि आन्तरिक पर्यटक यस क्षेत्रमा आउने गर्दछन् ।

पूर्व–पश्चिम राजमार्गभन्दा झन्डै ११ किलो मिटर उत्तर चुरेको फेँदीमा रहेको यो क्षेत्र प्राचीनकालमा पहाडबाट चौपायासहित हिउँदका बेला बसाइँ सार्नेहरुको आश्रयस्थलका रुपमा रहेको थियो । पहाडबाट झर्ने व्यक्तिले ताल भएको क्षेत्र नजिकैको थुम्कोमा मन्दिर स्थापना गरी पूजा गर्दै आएपछि यो क्षेत्र अन्य समुदायका व्यक्तिका लागि पनि धार्मिक क्षेत्रका रुपमा परिचित हुन पुगेको हो । मणिका धाम क्षेत्रमा रहेका सिद्धबाबाको प्राचीन मन्दिर र मन्दिर नजिकै ठूलो तलाउ रहेको छ ।

मुडका क्षेत्रमा रहेको तलाउमा मणिवाला सर्प बस्ने रहेका कारण यस क्षेत्रको नाम मुडका (मणिका) धाम रहेको स्थानीयवासी बूढापाकाको भनाइ रहेको छ । थारु भाषामा मुड भन्नाले शिरलाई बुझ्ने गरिएकाले सबैभन्दा अग्लो भाग भएकाले मुडबाट मुडका भएको एकथरिको भनाइ रहेको छ । रासस


प्रतिक्रिया

सम्बन्धित समाचार
ताजा अपडेट