कठमाण्डौ, २४ पुस ।
सातवटै प्रदेशमा मेडिकल कलेज खोल्ने सरकारको नीतिअनुरूप शिक्षा मन्त्रालयले सरकारी मेडिकल कलेज नभएका प्रदेशमा तयारी सुरु गरेको छ । प्रदेश नम्बर २ र ५ मा कलेज खोल्ने तयारी थालिएको छ ।
त्यस्तै, प्रदेश नम्बर ७ मा गेटा मेडिकल कलेजको पूर्वाधार विकास गरिँदै छ। प्रदेश नम्बर ५ को बुटवलमा कलेज स्थापनाका लागि जग्गा व्यवस्थापनको कार्य भइरहेको छ । नयाँ पत्रिका दैनिकमा खवर छ ।
शिक्षा मन्त्रालयका अनुसार अब स्थापना हुने मेडिकल कलेजको पूर्वाधार विकास समिति गठनको प्रक्रिया अघि बढेको छ । सरकारी मेडिकल नभएका प्रदेशमा स्थापनाका लागि गठन आदेशको मस्यौदा निर्माण भइरहेको जनाईएको छ ।
शिक्षा मन्त्रालयका प्रवक्ता हरिप्रसाद लम्सालले नभएका ठाउँमा कलेज स्थापनाको आन्तरिक तयारी भइरहेको बताउनुभयो । सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत सातवटै प्रदेशमा एक–एक मेडिकल कलेज सञ्चालनको प्रक्रिया अघि बढाउने घोषणा गरेको थियो।
सरकारी मेडिकल कलेज भएका प्रदेशमा भने नयाँ मेडिकल कलेज स्थापना प्राथमिकतामा छैन। प्रदेश नम्बर १ मा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, ३ नम्बर प्रदेशमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेका छन्।
