अव्यवस्थित चिहानले वन विनाश


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ पुस १४ बिहीवार ०९:१२ बजे

अव्यवस्थित चिहानले वन विनाश

१३ पुस,
पथरी मोरङ।

पूर्वमा घना जङ्गलमा तीव्ररुपमा पक्की चिहान निर्माण भएपछि जङ्गल मासिने क्रम बढ्न थालेको छ ।

विशेषगरी झापा, मोरङ र सुनसरी जिल्लाको राजमार्गले छोउका जङ्गल प्राकृतिक रुपले हरियो देखिनुको सट्टा चिहानले सेतै देखिन थालेका छन् ।

झापाको सीतापुरी, केर्खा, धरमपुर, माइधार, झिलझिले, चारआली, धाइजन, मोरङको पथरीशनिश्चरे, बयरवन, डाँगीहाट, बेलबारी तथा सुनसरीको धरानसहितका ठाउँमा कङ्क्रिट चिहानघर तीव्ररुपमा निर्माण भएपछि जङ्गल मासिने खतरा बढेको हो ।

राई, लिम्बू, मगरलगायतका जातजातिले मात्र निर्माण गर्दै आएको कङ्किट चिहान हाल आएर अरु जातिले समेत निर्माण गर्न थालेका छन् ।

झापा र मोरङमा भने भुटानी शरणार्थीले समेत जङ्गलमै चिहान बनाउन थालेको पाइएको छ । एउटा कङ्किट चिहानले एकदेखि तीन धुरसम्म क्षेत्रफल ओगट्ने गर्दछ । सुनसरी र झापामा चिहानले कति छेत्रफल ओगटेको छ भन्नेबारेमा जिल्ला वन कार्यालयसँग तथ्याङ्क छैन् ।

मोरङमा भने राजमार्ग छेउको करिब ४० किमी लम्बाई र करिब २० हेक्टर क्षेत्रफल कङ्किट चिहानले ओगटेको जिल्ला वन कार्यालयको तथ्याङ्कमा छ । जङ्गलमा चिहान निर्माण तीव्र हुन थालेपछि यसलाई व्यवस्थित गर्न विभिन्न पक्षबाट पहल सुरु भएको छ ।

कतिपय सामुदायिक वन उपभोक्ता समूहले आफ्नो क्षेत्रमा पक्की चिहान बनाउन रोक लगाएका छन् । वन उपभोक्ता समूहले विभिन्न स्थानमा सूचना पार्टी राखेर सचेत गराउन थालेपछि भने पक्की चिहान निर्माण नगरी समाधिस्थलमा बिरुवा रोप्न सुरु भएको जिल्ला वन कार्यालय मोरङका प्रमुख डा विनोद देवकोटाको भनाइ छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार