दाङ, ११ पुस ।
संविधान संशोधन प्रस्ताव संसदमा पेस भएपछि ५ नम्बर प्रदेशमा भईरहेको आन्दोलन साम्य पार्न नेकपा माओवादी केन्द्रले नयाँ प्रस्ताव अघि सारेको छ । दाङको घोराहीमा दुई दिनसम्म चलेको प्रदेश समितिको प्रथम बैठकले नयाँ प्रस्ताव अगाडि सारेको हो ।
बैठकपछि आइतबार पत्रकार समेलनमा प्रदेश इञ्चार्ज वर्षमान पुनले सरकारले जनजाति, मधेसी, थारुलगायतका समुदायलाई समेट्न अघि सारेको संविधान संशोधन प्रस्ताव सही रहेको भन्दै संविधान संशोधन भएको खण्डमा रोल्पा, प्यूठान र अर्घाखाँचीका जनताको मागलाई सम्बोधन गर्न दुईखाले प्रस्ताव अघि सारेको बताउनुभयो ।
पहिलो प्रस्तावका रुपमा पार्टीको नीतिअनुरुप १० प्रदेश बनाएर यी जिल्ला र आसपासका जिल्लालाई समेटेर आठौँ प्रस्ताव बनाउने अवधारणा रहेको उहाले बताउनुभयो । यदि त्यो पनि तत्काल सम्भव नभए प्युठान, रोल्पा र अर्घाखाँचीलाई सम्बोधन गर्ने गरी प्रदेश राजधानीका एकाइ राख्नुपर्ने निष्कर्षमा पुगेको उहाले बताउनुभयो ।
हाल उच्च अदालतका मुकाम एक ठाउँमा र अन्य ठाउँमा इजलास तोके जस्तै प्रदेश राजधानीबाट हुने सेवा सुविधा दिने गरी यी जिल्लामा राजधानीका एकाइ राख्ने सकिने उहाँको भनाइ थियो । गुल्मी र पाल्पाका माथिल्लो क्षेत्रका बासिन्दाले पहिले नै पोखरा भनिरहेका थिए उनीहरुलाई कुनै समस्या पर्दैन पुनले भन्नुभयो । रासस
