काठमाण्डौ, ११ पुस ।
स्वास्थ्यमन्त्री गगन थापाले स्वास्थ्य क्षेत्रलाई सर्वसुलभ बनाउन सरकारले गृहकार्य गरिरहेको बताउनुभएको छ । नेपाल प्रेस युनियनको रजत महोत्सवका अवसरमा सोमबार काठमाडौंमा गरिएको पत्रकारहरुको निःशुल्क मिर्गौला परीक्षण कार्यक्रममा उहाले जनतासँग जोडिएको स्वास्थ्य क्षेत्रलाई सर्वसुलभ बनाउनु सरकारको दायित्व भएको भन्दै आफूले त्यसैका लागि काम गरिरहेको जानकारी दिनुभयो ।
नियमित स्वास्थ्य परीक्षणका लागि चेतनामूलक कार्यक्रम ग्रामीण बस्तीसम्म र्पुयाउन सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुने भन्दै सहरकेन्द्रित स्वास्थ्य सेवालाई गाउँतहसम्म र्पुयाउन सरकारले पहल गरिरहेको उहाको भनाई छ ।
नेपाल प्रेस युनियनले भने सञ्चारकर्मीलाई निःशुल्क स्वास्थ्य सेवाको व्यवस्था गरिदिन माग गरेको छ । शिविरमा झन्डै २ सय सञ्चारकर्मी तथा पत्रकारको निःशुल्क मिर्गौला परीक्षण गरिएको थियो ।
