समतामुलक समाज कि महिला अधिकार !


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ पुस ८ शुक्रवार १५:२४ बजे

समतामुलक समाज कि महिला अधिकार !

मनीषा अवस्थी ।

महिला र पुरुष मिलेर बनेको विश्वमा शारीरिक रुपमा महिला पुरुषभन्दा कमजोर नै हुन्छन् । महिलाभन्दा बलियो शरीर र महिलाले प्राकृतिक रुपमा बच्चा पाउनुपर्ने कुरासँगै जोडिएका हिंसाका स्वरुप विभिन्न किसिमका छन् । जसका कारण नेपालमात्रै हैन, विश्व नै पुरुषप्रधान देखिन्छ ।

परम्पराकालदेखि चल्दै आएका बोक्सी प्रथा, बहुविवाह, देह व्यापार, जवरजस्ती करणी, कुटपिट र अंगभंग गर्नु, अवसरबाट बञ्चित गर्नु, सामाजिक वा पारिवारिक बहिष्कार गर्नु, आहार बिहारमा भेदभाव गर्नु, मानसिक डर–त्रास देखाउनु आदि सबै हिंसाहरु नै हुन् ।

कुनै पनि एउटा व्यक्ति वा समूहले अर्को व्यक्ति वा समूहलाई नियतवस् मनोवैज्ञानिक तनाव सिर्जना गर्नु, गाली, बेइज्जती र सामाजिक सांस्कृतिक तथा धार्मिक वहिष्कार गर्नु वा भेदभाव गर्नु आदि सबै कार्यलाई हिंसा भनिन्छ । लैंगिक विभेद वा महिला भएकै कारण महिलामाथि गरिने तल्लोस्तरका ब्यवहारलाई लैंगिक हिंसा भनिन्छ ।

विश्वस्तरमा सबै ठाउँमा हुने सबै प्रकृतिका हिंसाहरुमा पुरुषहरुको तुलनामा महिलाहरु नै बढी प्रभावित भएको देखिन्छ । विश्वभरीमा प्रत्येक ५ सेकेण्डमा एक महिलाले आफ्नो श्रीमानको हातबाट कुटाइ खाएको अनौपचारिक तथ्यांक छ । यद्यपि विकासोन्मुख देश नेपालमा धर्म–संस्कृतिका नाममा समेत हिंसा अझै बढी हुने गरेको छ ।

मानसिक द्वन्द्वमा समाज
हामी एकाइसौं शताब्दीको परिवर्तनशील समाजमा छौं । यद्यपि नेपाली समाज महिला र पुरुष द्वन्द्वको स्थितिबाट गुज्रिरहेको देखिन्छ । अहिले नेपाली समाज निकै संक्रमणमा देखिन्छ । पितृसत्तात्मक समाजमा महिलाहरुलाई अधिकार दिन पुरुषहरु मनैदेखि तयार छैनन् र पुरुषको भरमा चलिरहेको हुँदा महिलाहरु पूर्ण रुपमा कर्तब्य निभाउन पनि तयार छैनन् । त्यसकारण महिलाहरु जति मानसिक संक्रमणमा छन्, अहिले पुरुषहरु पनि मानसिक द्वन्द्वको स्थितिमा छन् ।

अहिले पनि अधिकांश पुरुषहरुले महिलाहरुलाई अधिकार दिए पनि खाजेको जस्तो अधिकार दिन सकेका छैनन् भने महिलाहरुले पाएको अधिकार मात्रैको पनि सदुपयोग गरेर कर्तब्य निभाउन सकेका छैनन् । अहिले बाहिर हिड्ने पेशामा आबद्ध कतिपय महिलाहरुको घरपरिवारको अवस्था ठिक नभएको देखिन्छ । जसमा राजनीति, पत्रकारिता गर्ने नेपाली महिलाहरुको अवस्था हेर्न सकिन्छ । यस्तो अवस्थामा घरपरिवार बिग्रिनुमा सम्पत्ति पुरुषको हातमा भएको हुँदा बढी दायित्व पुरुषको हुने भए पनि महिलाहरु पनि उत्तिकै जिम्मेवार हुने गर्छन् ।

महिला हिंसा विरुद्धको १६ दिने अभियान
हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० तारिखसम्म महिला हिंसा विरुद्धको १६ दिने अभियान चल्छ र चलिरहेको छ । अभियान चलिरहँदा राजधानी उपत्यका र अधिकांश जिल्ला सरमुकाममा हामी कोठे बहस गरेर १६ दिन कटाउँछौं । यसैगरी अधिकारको वकालत गर्नेहरुले महिला हिंसा रटेरमात्रै बसेका देखिन्छन् ।

निरन्तर रुपमा सञ्चालन हुँदै आएको यस १६ दिने अभियानले लैङ्गिक समानतासम्बन्धी अधिकारकर्मीहरुले वकालत गरेनन् भन्ने आधार छैन, नेपालमा दर्जनौं गैरसरकारी संस्था र कयौंं सरकारी संघसंस्थाहरु महिला अधिकारका लागि स्थापित छन् । यद्यपि पर्याप्त काम गरेका छन् भन्ने आधार भने छैन । तर शहरका महिलाहरु आफ्नो अधिकारका लागि बोल्नुपर्ने कुरामा जानकार भने भएका छन् ।

शिक्षित महिला मानसिक हिंसामा
कतिपय पढे–लेखेका महिलाहरु पनि हिंसाको चपेटामा परेका छन् । पढे–लेखेका महिलाहरु कानूनकाबारे जानकार त छन् तर उनीहरु कारबाही गर्न नसकिने मानसिक हिंसाको सिकार भइरहेका छन् । कुनै महिला शहरमा बस्छे, पढेलेखेको पनि छ जागिर पनि गरेको छ, छोराछोरी पनि हुर्काएको छ हो ।

त्यस्तै महिला मानसिक हिंसाको दलदलमा बढी फसेका उदाहरण छन् । जुन कुरा बाहिर पनि आएका छैनन्, भित्रभित्रै लुकेर पिडा दिइरहेका छन् । त्यस्ता महिलामाथि चरित्रको सवालमा हुने मानसिक हिंसाको हेक्का राख्ने कि नराख्ने अधिकारकर्मीहरुले ? पिडक त्यही घरका अरु महिला र पुरुष हुने गरेका छन् ।

हिंसामा पुरुष पनि
नेपाली समाजको अवस्था हेर्दा पुरुषलाई बलियो बनाएको भए पनि कानूनले महिलाहरुलाई बलियो आधार दिएको छ । आफुमाथि हिंसा भएको थाहा पाएर उजुरी गर्ने आँटमात्रै कुनै महिलाले गरेमा कानूनले धेरै हदसम्म न्याय समेत दिने गरेको छ ।

समाजको समानता र विकासका लागि कानूनले न्याय दिनु निकै सकारात्मक कुरा हो तर महिलालाई मात्रै बलियो बनाएको नेपाली कानूनले पुरुषमाथिका हिंसा बढाएको यथार्थ छ । तर कानूनले र वकालत गरिरहने संघसंस्थाले विकट र अविकसित समाजमा गएर वकालत गर्न नसक्दा शहरबजारतिर बस्ने र पढेलेखेका केही महिलाहरुले कानूनको दूरुपयोग गरेको पनि भेटिएको छ ।

जसका कारण महिलाहरुलाई कानूनले बलियो बनाएपनि सदुपयोग गरेर उनीहरु स्वयं बलियो बन्न सकेका छैनन् । यसकारण केही पुरुष कानूनकै कारण हिंसामा परिरहेका छन् । अहिले पुरुषहरु विभिन्न कारण हिंसाको शिकार भइरहेको देखिन्छ । नेपालमा महिलाको निम्ति सम्बन्धविच्छेदको प्रक्रिया जति सजिलो छ, पुरुषको निम्ति त्यति सजिलो छैन । कानुनले महिलालाई दिएको कानुनी अधिकारको पक्ष पुरुषको भन्दा बलियो छ । कानुनले पुरुष हिंसाको बारेमा प्रस्ट उल्लेख गरेको छैन ।

यसका कारण पनि दुःख दिइरहने श्रीमतीसँग सजिलै सम्बन्धबिच्छेद गर्न सक्दैन । यसैगरी पुरुष अहम्का कारण पनि नेपालमा पुरुषहरु हिंसामा परिरहेको यथार्थ छ । पुरुषहरु सामाजिक रुपमा बलियो छन् । महिलाहरु पुरुषको नियन्त्रणमा छन् भन्ने आम मानसिकताका कारण म पत्नी पिडित छु र म पत्नीबाट हुने हिंसाबाट पिडित छु भन्न नेपाली पुरुष तयार हुँदैनन् । शहरमै बस्ने हामी महिलाहरु समानताका नारा लगाउँछौं तर अधिकांश महिलाहरु पुरुषसरह आफ्नो अधिकार र कर्तब्यका लागि तयार रहँदैनन् । समानताका कुरा गरिरहँदा पुरुषसरहको कर्तब्य निभाउने कि ननिभाउने ?

समग्रमा समाज निकै परिवर्तनशील छ । समयसँगै विश्वभर महिला र पुरुषले समानता खोजिरहेका छन् । यसैक्रममा नेपाल पनि अघि बढिरहेको छ । नेपालका विभिन्न सम्माननीय पद र राजनीतिमा महिलाको सहभागिता पनि बढ्दो छ जसले पुरुषप्रधान समाजमा महिला पनि अगाडि बढ्न सक्छन् र काम गर्न सक्छन् भन्ने चेतनाको विकास भएको छ ।

यद्यपि पुरुषप्रधान समाजमा महिलाहरु एकअर्काबाट जानअन्जानमै पीडित भएका छन् । माथि उल्लेख भएझै त्यही चपेटामा पुरुष पनि परेका छन् । पुरुषहरु सामाजजिक रुपमा बलियो छन् तर कानूनले कमजोर बनाएको छ । महिला हिंसा मात्रै भनिरहँदा सबै महिला पुरुष र बालबालिकासँग पनि जोडिएका हुन्छन् । यसतर्फ पनि ख्याल गर्न जरुरी हुन्छ ।

परिवर्तनशील २१ औं शताब्दीको विकाससँगै समाजको समतामुलक विकास हुन एकदमै आवश्यक छ । यसका लागि पुरुषमाथि हिंसा वा दमन गरेर हैन, अझै महिलाहरुले घर र समाजका पुरुषहरु ब्यवस्थापन त संस्कारहरुको जगेर्ना गर्दै अगाडि बढ्नु नै अहिलेको आवश्यकता हो । धेरै मनिसहरुमा यसको बुझाईमा प्रष्टता देखिदैन । अधिकारकर्मीहरुले महिलाहरु हिंसामा परेका चर्का नाराहरु लगाएर कोठे बैठकमात्रै गर्दा आखिर हिंसा के हो भन्ने कुरा महिलाहरुले बुझेका छैनन् ।

महिला अधिकार र महिला विरुद्धको हिंसाको यस्ता नाराहरुका अगाडि लैंगिक समानताको सही अर्थ छायाँमा परेको देखिन्छ । समतामुलक समाज निर्माणका लागि महिला हिंसामात्रै हैन, सबैखाले हिंसाहरुको नियन्त्रण गर्न जरुरी छ । महिला अधिकारकर्मीहरुले महिलाको अधिकारका लागि मात्रै बोलेर पुरुषहरु माथि हिंसाको वातावरण बनाउनु हुँदैन ।

महिला अधिकारकर्मीहरुले अब आफ्नो दायरा फराकिलो बनाउँदै समाजमा भइरहने बालबालिका, महिला–पुरुषसँगै समग्र मानव अधिकारका लागि उठ्न जरुरी छ । एक अर्कोमाथि हिंसा गर्दै अधिकार खोजेर हैन, समतामुलक समाज निर्माणका लागि सबैको अधिकारको सम्मान गर्दै आफ्नो कर्तब्यको पालना गर्नुपर्छ । महिला हिंसा विरुद्धको १६ दिने अभियान समतामुलक समाज निर्माणको दिशामा अग्रसर होस्, शुभकामना ।


प्रतिक्रिया

सम्बन्धित समाचार