काठमाण्डौ
पुस २
रानीपोखरीमा रहेको माछा अन्यत्र सार्ने काम सकेसँगै पोखरी सफाइको काम सुरु हुने भएको छ ।
गत मङ्गलबारदेखि रानीपोखरीमा रहेका सबै माछा कमलपोखरीमा सारिसकिएको हुँदा पोखरी सफा गर्ने काम सुरु हुने काठमाडौँ महानगरपालिकाले जनाएको छ । निर्माण भएको चार सय वर्षदेखि पोखरी सफा गरिएको छैन । अहिले पोखरी वरपर पर्खाल निर्माण लगाउने काम भइरहेको छ । विसं २०७२ वैशाख १२ को भूकम्पका कारण पोखरीका बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर तथा पोखरी र वरपर क्षति पुगेको थियो । पुनःनिर्माणको जिम्मा पाएको वल्र्डवाइड कँडेल केएन केजी जेभीका निर्देशक अर्जुन कँडेलका अनुसार अबको एक दुई दिनभित्र पोखरीको हिलो सुकाइएपछि सफा गर्ने काम सुरु हुनेछ । ऐतिहासिक महत्वको विष्णुतीर्थको पुनः निर्माणको मौका छोपी पोखरीलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न विद्युत् जडान गरी झिलीमिली बनाइने, बगैँचा निर्माण गरिने तथा हरियाली र रङ्गीन पानीको फोहरा समेत निर्माण गरिने जनाइएको छ ।
