काठमाण्डौ
मंसिर २९
भूकम्पले पूर्ण क्षतिभएको गोरखाको बारपाकबासीहरु पुनःनिर्माण अभियानमा जुटेका छन् । भूकम्पपश्चात भूकम्प प्रतिरोधी घर निर्माणका लागि सघ संस्थाले समुदायमा तालिम दिएपछि स्थानीय घर निर्माणमा जुटेका हुन् । गाविसको तथ्याङ्क अनुसार १६० घर निर्माण सकिन अन्तिम अवस्थामा छन् ।
हाल निर्माण गरिएका घर सरकारी मापदण्ड अनुसार निर्माण गरिए पनि भूकम्पलगत्तै बनेका तीन सय घर भने मापदण्डविपरित भएको वारपाक गाविस कार्यालयले जनाएको छ । हाल निर्माण भएका बारपाकका घर अधिकांश पक्की (आर.सी.सी.) प्रविधिबाट निर्माण भइरहेका छन् । पिलरसहित पक्की घर निर्माण गर्न नसक्नेले पनि जस्तापाताले छाएर घर निर्माण गरिरहेका छन् । बारपाकका स्थानीय आआफ्नै घर बनाउन व्यस्त रहे पनि निक्कै चहलपहल बढेको छ । तराईबाट मजदुर घर निर्माणका लागि बारपाक पुगेका छन् । ढुङ्गा, गिट्टी, बालुवा, सिमेन्ट र छडलगायत निर्माण सामग्रीको ढुवानी निक्कै बढेको गाविस सचिवले बताउनुभयो । २०७२ साल वैशाख १२ गतेको भूकम्पको केन्द्रविन्दु रहेको बारपाक गाविसको पुराना भौतिक संरचना केही पनि बाँकी छैनन् । बारपाक गाविसमा एक हजार ४४६ घरमध्ये एक हजार २९४ घर पूर्ण क्षति भएका थिए । बाँकी सबै आंशिक क्षति भएका थिए । सो गाविसमा ७२ जनाको मृत्यु भएको थियो ।
घर निर्माणका लागि सरकारी अनुदान वापतको पहिलो किस्ता ५० हजार रुपियाँ ९० प्रतिशत भूकम्पपीडित परिवारले लिइसकेको बारपाक गाविस कार्यालयले जनाएको छ । तर, सरकारी अनुदानभन्दा पनि बासपाकवासीले विभिन्न संघ संस्थाको सहयोगमा घर निर्माणलाई तीव्र बनाएको रागर सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष धनबहादुर घलेले बताउनुभयो ।
