काठमाण्डौ
मंसिर २७
तराईका जिल्लामा शीतलहर सुरु भएसँगै त्यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । केहीदिन यता तराईका विभिन्न जिल्लाहरुमा चलिरहेको चिसो हावा र शितलहरका कारण जनजीवन कष्टकर बन्दै गएको हो ।
जसका कारण कठ्यांग्रिएर महोत्तरी र रौतहटमा दुईजनाको मुत्यु भईसकेको छ । बाक्लो हुस्सुसँगै चिसो हावा चल्ने गरेकाले महोत्तरीमा सर्वसाधरणका साथै चौपाया र आलुबालीमा समेत नकारात्मक प्रभाव पर्न थालेको छ । यसपाली आलुको उत्पादनमा गम्भीर ह्रास आउने देखेपछि किसानहरु चिन्तित बनेका छन् । शीतलहरबाट खासगरी बालबालिका, जेष्ठ नागरिक, दैनिक मजदुरी गरी जीविकोपार्जन गर्ने मजदुर, किसान र रिक्सचालकहरु बढी प्रभावित भएका छन् ।
त्यसैगरी सप्तरीमा पनि चिसोका कारण जनजीवन कष्टकर बन्दै गएको छ । चिसोले धेरै मात्रामा बालबालिका र जेष्ठ नागरिकहरु बढी प्रभावित हुन थालेका छन् । चिसोका कारण स्थानीय गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालका साथै विभिन्न स्वास्थ्य केन्द्रमा दम, रुघाखोकी, निमोनिया, कोल्ड डाइरियाका बिरामीको चाप बढ्दै गएको चिकित्सकले बताएका छन् । अत्यधिक चिसो बढेपछि जिल्लाका सबैजस्तो गाउँ तथा चोक चोकमा सर्वसाधारण दाउरा बालेर आगो ताप्नेहरुको संख्या बढ्दै गएको छ ।
यस्तै जाडोका कारण धनुषालगायतका केही जिल्लाहरुमा सामुदायिक विद्यालय अनिश्चितकालका लागि बन्द गरिएका छन् । हुस्सु र शीतलहरका कारण विद्यार्थीहरु विरामी हुन थालेपछि घाम नआउन्जेलसम्मका लागि विद्यालय बन्द गरिएको धनुषाका निमित्त जिल्ला शिक्षा अधिकारी दानाकान्त झाले जानकारी दिनुभयो । पूर्वका सुनसरी, मोरङ, झापा लगायतका जिल्लामा पनि बिहानको केही समय बाक्लो हुस्सूका कारण दिनहुँजसो सवारी अवागमन नै प्रभावित हुने गरेको छ । यता पश्चीम नेपालका तराईएका जिल्ललाहरुमा पनि बाक्लो हुस्सुका कारण जनजविन प्रभावित भएको छ ।
