काठमाण्डौ
मंसिर २५
सप्तरीको राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा १८ दिनदेखि आमरण अनशनमा बसिरहेका विकास तिवारीको अनशन तोडिएको छ ।
स्वास्थ्य मन्त्री गगन थापाको रोहबरमा अस्पतालको कुपोषण पुर्नस्थापना केन्द्रमा उपचार गराइरहेकी बालिका निलम मण्डलको हातबाट जुस पिएर तिवारीले आज अनशन तोड्नु भएको हो । अनसन तोड्नु अघि स्वास्थ्य मन्त्रालय र तिवारी पक्षबीचमा ४ बुँदै सम्झौता भएको स्वास्थ्य मन्त्रालयका प्रमुख प्रशासक तथा प्रवक्ता भोगेन्द्र डोटेलले जानकारी दिनुभयो । मन्त्रालयका तर्फबाट प्रमुख प्रशासक डोटेल र तिवारीका तर्फबाट बार्ता टोलीका संयोजक अशोककुमार चौधरीसहित पाँच जनाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । तिवारीका मागका बारेमा विस्तृत अध्ययन गरी समस्या समाधानका उपाय बारे प्रतिवेदन दिन प्रमुख विशेषज्ञको अध्यक्षतामा उच्चस्तरिय समिति गठन गर्ने सहमती सम्झौता पत्रमा उल्लेख छ । सो समितिलाई एक महिना भित्रमा प्रतिवेदन बुझाउने समयावधि दिइएको छ ।
