काठमाण्डौ
मंसिर १९
आज विवाह पञ्चमी, जनकपुरमा विशेष उत्सवका साथ मनाईदैछ । त्रेतायुगमा भगवान राम र सीताको विवाह भएको स्मरणमा प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमीका दिन विवाह पञ्चमी मनाउने परम्परा छ ।
त्रेतायुगमा मिथिलाका राजा जनकले छोरी सीताको स्वयंवरका लागि राखिएको शिवधनुषलाई अयोध्याका राजा दशरथका जेठा छोरा रामले तीनटुक्रा पारेपछि मङ्सिर शुक्ल पञ्चमी अर्थात आजकै दिन राम र सीताको विवाह सम्पन्न भएको धार्मिक ग्रन्थ रामायणमा उल्लेख छ । जनक नन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन् ।
विवाह पञ्चमीमा नेपालका विभिन्न स्थान तथा भारतबाट उल्लेख्य रुपमा दर्शनार्थीहरुको सहभागीता छ । आज आयोजना गरिने विवाह समारोहमा बेहुली पक्ष अर्थात सीताको डोली जानकी मन्दिरबाट निस्कने छ । त्यस्तै राम मन्दिरबाट रामको डोला निस्कनेछ । दुलाहा, दुलही बोकी आएका दुवै रथलाई बाजागाजा सहितको ¥यालीले नगर परिक्रमा गराइन्छ । दिनभर उत्सवका साथ नगरपरिक्रमा गरेपछि राति जानकी मन्दिरमा राम र सीताको विवाह धुमधामका साथ सम्पन्न हुनेछ ।
विवाह पञ्चमीको अवसरमा जनकपुरधाममा जानकी मन्दिर सहित तिरहुतियागाछीमा श्रद्धालु भक्तजनको बिहानैदेखि भिड छ । यस अवसरमा भजनकीर्तन, रामलीला, झाँकी र प्रवचनको पनि आयोजना गरिएको छ । यस अवसरमा आज देशभरका राम मन्दिरमा पनि विवाह महोत्सव मनाइन्छ । आज लगन नभएपनि विवाह गर्नका लागि शुभ हुने सामाजिक मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताउनुभयो ।
