काठमाण्डौ
मंसिर १९
सरकारले दर्ता गराएको संविधान सशोधन विधयेकमा प्रदेश नं. ५ को पहाड र तराईलाई अलग–अलग बनाउने प्रस्ताव गरेको विरोधमा आजपनि विभिन्न जिल्लाहरुमा प्रदर्शन जारी छ । आजपनि रुपन्देही, गुल्मी, अर्घाखांची, रोल्पा र प्यूठानमा पनि नाराबाजी भैरहेको छ । रुपन्देहीका विभिन्न ठाउँमा प्रधानमन्त्रीविरुद्ध नाराबाजीसमेत गरिएको छ ।
संविधान संशोधनको विरुद्ध संस्थागत निर्णय गरेको एमालेसहितका अरु दलका नेता कार्यकर्ता पनि आन्दोलनमा लागेका छन् । उता, पाल्पामा आज बिहान सातबजेसम्म फाटफुट यातायातका साधन चलेपनि त्यसपछि पूर्ण रुपमा बन्द भएका छन ।
यसैबिच, संयुक्त युवा तथा विद्यार्थी मोर्चाले संविधान संशोधनको प्रस्ताव छिटो फिर्ता लिन माग गर्दै आज काठमाडौँ उपत्यकाका सरकारी क्याम्पस अगाडि विरोध प्रदर्शन गरेका छन् । मोर्चाले उक्त प्रस्ताव मुलुकको हितमा नरहेकाले त्यसलाई फिर्ता लिन सरकारलाई दबाब दिने उद्देश्यले क्याम्पस क्षेत्र वरपरका सडकमा चक्काजाम, विरोध प्रदर्शन तथा सभा समेत ग¥यो । मोर्चामा संविधान संशोधनको प्रक्रियामा असहमत नेकपा (एमाले), नेकपा (माले), राष्ट्रिय जनमोर्चा, नेमकिपा तथा नेकपा (माओवादी) निकट युवा एवं विद्यार्थी सङ्गठन आबद्ध छन् ।
यसैबिच,स्थानीय तह पुनः संरचना प्राविधिक समितिले गरेको सिफारिसप्रति असन्तुष्टि जनाउँदै सिन्धुलीका १० गाविस आजदेखि अनिश्चितकालका लागि बन्द गरिएको छ । कमलाखोज क्षेत्रका १० गाविस हत्पते, सिर्थौली, हर्षाही, जिनाखु, अरुणठाकुर, ककुरठाकुर, साविक लदाभिर, टाडी गाविस र दुधौली नगरपालिका बन्दको आह्वान गरिएको छ । जिल्लास्तरीय पुनः संरचना प्राविधिक समितिले जनताको भावना विपरीत स्थानीय विकास अधिकारीको निवासमा बसेर स्थानीय तहको सिफारिस गर्दा आफूहरु समस्यामा परेको भन्दै आफूहरु आन्दोलनमा उत्रिन बाध्य भएको स्थानीयवासीले बताएका छन् । उनीहरुले सात गाविस र दुधौली नगरपालिकाको बीच भागलाई केन्द्र बनाउनुपर्ने तथा नगरपालिकाको नाम भूगोलबाट राख्नुपर्ने माग गरेका छन् ।
