२२ दिनदेखिको डाक्टर गोविन्द केसीको भोक मेटियो, पछि फेरिपनि भोको बस्ने संकेत !


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ मंसिर १९ आइतवार १५:३५ बजे

२२ दिनदेखिको डाक्टर गोविन्द केसीको भोक मेटियो, पछि फेरिपनि भोको बस्ने संकेत !

काठमाण्डौ
मंसिर १९
सरकारसँग बाह्रबुँदे सम्झौता भएपछि २२ दिनको आमरण अनशनमा बस्नुभएका चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगन्जका प्रा डा गोविन्द केसीले आज अनशन तोड्नुभएको छ । दसौँ पटक आमरण अनशनमा बस्नुभएका उहाँको यो सबैभन्दा लामो अवधिको अनशन हो ।

सिन्ुधाल्चोकका भूकम्पपीडित अढाई बर्षीय बालक मर्साङ तामाङको हातबाट जुस पिउँदै डा. केसीले अनसन तोड्नुभएको हो । अनशन तोडेपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रा डा केसीले आफ्नो लडाइँ व्यक्तिविशेषका लागि नभई समग्र चिकित्सा शिक्षा र चिकित्सा सेवाको सुधारका लागि भएको बताउनुभयो । उहाँले देश संविधान सशोधनको विषयले अशान्त भइरहेका बेलामा आफू अनशनमा बसिरहन सान्दर्भिक नभएकाले अनशन तोड्नुपरेको बताउनुभयो । उहाँले त्रिवि उपकुलपतिले राजीनामा दिनैपर्ने उल्लेख गर्दै सहमतिको कार्यान्वयन नभएसम्म आफ्नो लडाइँ कायम रहने स्पष्ट पार्नुभयो । अनशनका क्रममा उहाँको स्वास्थ्य गम्भीर रहेकाले आजदेखि नै उहाँलाई थप उपचारका लागि सघन उपचार कक्षमा भर्ना गरिएको छ । त्रिविका उपकुलपति डा तीर्थ खनियाँ र चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का डिन प्रा डा केपी सिँहको राजीनामा लगायत बाह्रबुँदे माग राखी गत कात्तिक १८ गतेदेखि उहाँ अनशनमा बस्नुभएको थियो । गत कात्तिकमा नियुक्त डिन प्रा डा सिंह वरिष्ठताका आधारमा नियुक्त नभएको भन्दै डा केसीले अनशन थालेपछि डिन सिंहले शुक्रबार राजीनामा दिनुभएको थियो । त्यसपछि सरकारले केसीले माग गरेझैँ वरिष्ठताका आधारमा प्रा डा जगदीशप्रसाद अग्रवाललाई शनिबार नयाँ डिन नियुक्त गरेको थियो ।


प्रतिक्रिया

सम्बन्धित समाचार