काठमाण्डौ
मंसिर १७
भूकम्पबाट क्षति भएका घरमध्ये अनुदान रकम प्राप्त गरी १५ हजार ८ सय ६१ घर पुनःनिर्माण सुरु भएको सहरी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन एकाइका अनुसार मङ्सिर १५ सम्ममा भूकम्प अति प्रभावित ११ जिल्लामध्ये सिन्धुपाल्चोकमा एक हजार ६२३, धादिङमा दुई हजार १६५, काभ्रेमा एक हजार चार, नुवाकोटमा चार हजार ३३०, गोरखामा एक हजार २७१, दोलखामा दुई हजार ८९० घर पुनःनिर्माण सुरु गरिएको हो ।
यस्तै रामेछापमा ८५१, सिन्धुलीमा १२६, मकवानपुरमा ६१२, ओखलढुङ्गामा ४७३ र रसुवामा ५१६ घर पुनःनिर्माण भइरहेको छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन एकाइका अनुसार मङ्सिर १६ सम्म पाँच लाख २७ हजार ४६६ घरधनीसँग अनुदान सम्झौता भएको छ । उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुरमा गरी ५३ हजार ४२५ घरधनीसँग अनुदान सम्झौता भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको केन्द्रीय कार्यालयमा एक लाख आठ हजार ७७ गुनासो दर्ता भएकामा व्यवस्थापन सूचना प्रणालीमा ८३ हजार ७१० वटाको गुनासो प्रविष्टि भएको छ । जसमध्ये ५४ हजार ३३६ जनाको गुनासो जाँच गरीे वर्गीकरण गरिएको प्रवक्ता रामप्रसाद थपलियाले जानकारी दिनुभयो ।
