काठमाण्डौ
मंसिर १६
विश्व एड्स दिवस आज एचआइभीको नयाँ संक्रमण, भेदभाव र एड्सबाट हुने मृत्युलाई शून्यमा पु¥याऔं भन्ने नाराका साथ विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाईंदैछ ।
एचआईभी र एड्सको प्रभावकारी रोकथाम, उपचार हेरचाह र सहयोगका लागि विश्वव्यापी समर्थन जुटाउन र जनचेतना जगाउने उद्देश्यले हरेक वर्ष डिसेम्बर १ तारिखमा यो दिवस मनाउने गरिएको छ । एड्स आफैँमा रोग होइन ।
एक किसिमको भाइरसको संक्रमण बढ्दै जाँदा यसले एड्सको स्वरुप लिन्छ । एचआइभी संक्रमण एड्सको अवस्थामा पुग्न व्यक्तिको शारीरिक अवस्था हेरी दुई देखि १५ वर्ष लाग्ने स्वास्थ्यकर्मीको भनाइ छ । शरीरका भित्री तरल पदार्थबाट सर्ने भएकाले संक्रमितसँगको यौन सम्पर्क, संक्रमित सुईको प्रयोग र स्तनपानको माध्यमबाट बच्चामा सर्दै जान्छ । एचआइभी भाइरस शरीरमा फैलिए रोगसँग लड्ने क्षमता समाप्त हुन्छ ।
नेपालमा अहिले संक्रमितको संख्या झण्डै ५० हजारको सख्यामा रहेको अनुमान छ । नेपालमा पछिल्लो समय एचआइभी एड्सका नयाँ संक्रमितको संख्या घट्दै गएपनि अझै पनि संक्रमितहरु सार्वजनिक नहुँदा उपचारमा समस्या भएको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले जनाएको छ । एचआइभी एड्स सम्बन्धि राष्ट्रिय रणनीतिले सन् २०१६ सम्म नयाँ संक्रमणदर ५० प्रतिशत, मृत्युदर २५ र नवजात शिशुमा हुने संक्रमण ९० प्रतिशत घटाउने लक्ष्य लिएको छ ।
