काठमाण्डौ
मंसिर १६
संविधान संशोधनमा ५ नम्बर प्रदेशलाई टुक्राउन खोजेको विरोधमा पाल्पाका युवा, तरुण विद्यार्थीले आज पाल्पा बन्दको घोषणा गरेका छन् । उनीहरुले सरकारले विधेयक फिर्ता नलिएसम्म विभिन्न आन्दोलनको कार्यक्रम गर्नेसमेत बताएका छन् ।
नेपाल विद्यार्थी संघका अध्यक्ष कृष्णबहादुर आलेले संविधान संशोधनका विरुद्धमा सबै युवा, विद्यार्थी र तरुण एकजुट भएर आन्दोलन अघि बढाएको बताउनुभयो । उहाले दलहरुको आन्दोलनलाई सहयोग गर्दै युवा, तरुण र विद्यार्थीले आन्दोलनलाई थप सशक्त बनाउने बताउनुभयो । युवा विद्यार्थीले अनिश्चितकालीन रुपमा सरकारी नम्बर प्लेटका सवारी साधनलाई गुड्नसमेत दिएका छैनन् । सरकारको संविधान संशोधनमा ५ नम्बर प्रदेश टुक्राउने एजेण्डा फिर्ता नलिएसम्म सरकारी सवारी साधनलाई तानसेन बजारमै गुड्न नदिनेसमेत युवा, तरुण विद्यार्थीले बताए । बन्दका बेला राप्रपा पाल्पाको एकता भेलालाई भने कार्यक्रम गर्न दिने उनीहरुले बताएका छन् ।
