काठमाण्डौ
मंसिर ८
पाँच नम्बर प्रदेश टुक्राउने चलखेल भैरहेको भन्दै त्यसो गरिए कडा आन्दोलन गर्ने चेतावनी अर्घाखाँचीस्थित विभिन्न राजनीतिक दल र सरोकारवालाले दिएका छन ।
पहाड र तराई भनेको घर र बँेसी जस्तै भएकोले तराई र पहाडलाई अलग गर्न नहुने भन्दै उनीहरुले तराईका जिल्लाबाट गुल्मी, पाल्पा अर्घाखाँचीलाई छुट्टै ठाउँमा समेट्न खोजे त्यसको प्रतिकार आन्दोलनबाट गर्ने चेतावनी दिएका हुन । पाँच नम्बर प्रदेश टुक्राउन नपाइने माग गर्दै उनीहरुले आज संयुक्तरुपमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापन पत्र समेत बुझाएका छन् । उद्योग वाणिज्य सङ्घ र नेपाल पत्रकार महासङ्घ अर्घाखाँचीले संयुक्त रुपमा सन्धिखर्कमा आयोजना गरेको ‘पाँच नम्बर प्रदेश टुक्राउन नदिने’ विषयक अन्तक्र्रिया कार्यक्रममा नेपाली काँग्रेस अर्घाखाँचीका जिल्ला सभापति विष्णुप्रसाद खनालले सङ्घीय पुनः संरचनाको नाममा वा कुनै पनि बहानामा पाँच नम्बर प्रदेशलाई टुक्राउने र तराईका जिल्लाबाट गुल्मी पाल्पा अर्घाखाँचीलाई छुट्टै ठाउँमा समेटन खोजे त्यसको प्रतिकार आन्दोलनबाट गर्ने चेतावनी दिनुभयो । पहाड तथा तराईका जिल्ला समेटेर बनाएको अहिलेको संरचना नै उपयुुक्त भएको बताउँदै उहाँले यसलाई टुक्राउन नहुने भन्नुभयो । नेकपा (एमाले)का जिल्ला अध्यक्ष चेतनारायण आचार्यले देशी विदेशीको इसारामा अहिले सरकार पाँच नम्बर प्रदेशलाई टुक्राउन लागि परेको चर्चागर्दै यो प्रदेश टुक्राउन खोजे त्यसको प्रतिकार गर्ने बताउनुभयो ।
सत्तारुढ नेकपा (माओवादी केन्द्र)का जिल्ला सहसंयोजक छमकुमारी खनालले कुनै बहानमा पाँच नम्बर प्रदेश टुक्राउन नहुने बताउनुभयो ।
