काठमाण्डौ
मंसिर ७
सरकारी चिकित्सक सङ्घ नेपालले सरकारी अस्पतालमा बहिरङ्ग सेवा लगायत सेवा बिहान १० बजेदेखि ५ बजेसम्म सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयले दिएको निर्देशन कार्यान्वयन हुन नसक्ने जनाएको छ ।
मन्त्रालयले अतिरिक्त सेवाका लागि चिकित्सकलाई थप सुविधाको व्यवस्था नगरी हचुवाका भरमा यस्तो सूचना निकालिएको सङ्घले आरोप लगाएको छ । विज्ञप्ति जारी गर्दै सङ्घका महासचिव डा विष्णुरथ गिरीले अन्य सरकारी कार्यालय जस्तै नियमानुसार १० बजेदेखि ५ बजेसम्म सञ्चालन गरेर साँझ ५ बजेपछि के गर्ने भन्नेबारेमा सूचनाले केही उल्लेख नगरेको र त्यो सूचना गैरजिम्मेवार रहेको टिप्पणी गर्नुभयो । अहिले सरकारी अस्पतालमा चिकित्सकले एक हप्तामा कम्तीमा ४९ घन्टा सेवा दिइरहेको बताउँदै उहाँले बिहान र साँझको ‘वार्ड राउन्ड’समेत जोड्दा सेवा अवधि त्यसभन्दा बढी रहेको जिकिर गर्नुभयो । विज्ञप्तिमा श्रम ऐनले साप्ताहिक रुपमा ४८ घन्टाभन्दा बढी काम लगाउन नपाइने व्यवस्था गरेको भन्दै सङ्घले अतिरिक्त सेवाका लागि सरकारबाट चिकित्सकलाई थप सुविधा व्यवस्था हुनुपर्ने बताइएको छ ।
मन्त्रालयले सबै सरकारी स्वास्थ्य संस्थामा बहिरङ्ग सेवा लगायत अन्य सेवा बिहान १० बजेदेखि बेलुका १० बजेसम्म सञ्चालन गर्न गत शुक्रबार निर्देशन दिएको थियो ।
